काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित हुन पुगेको बताएका छन् ।
विगतमा प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने उनले बताए।
शर्माले भने,‘समाजमा यो प्रकारको निराशा किन हुँदैछ? मानिसमा किन आशा मर्दैछ? हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास पनि किन क्रमश: खण्डित हुँदैछ?’
सामाजिक सञ्जालमा भिडियोमार्फत उपसभापति शर्माले बर्खाको बेलामा सुकुम्बासीलाई उठिबास लगाएको भन्दै असन्तुष्टि पनि जनाए।
‘देश भित्र शरणार्थी जस्तो बनाएका सुकुम्बासीहरू अहिले फेरि अझै कष्टकर जीवन बेहोरिरहेका छन्। यस्तो बेलामा हामी प्रश्नले सरकारलाई घेर्न चाहन्नौं। आलोचना गर्न चाहन्नौं। सरकारलाई सहकार्य गर्न चाहन्छौं,’ शर्माले भने,‘सरकारको साथमा उभिन चाहन्छौं सरकारलाई साथ दिन चाहन्छौं हामी हात लम्काउन चाहन्छौं।’



