सुनसरी- सुनसरीको सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन्।
मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताएका उनले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन्।
केही वर्षअघिका धान खेतमा उनले काँक्रा, बोडी, करेला, खुर्सानी, भण्टा फलाएका छन्। यसबाट वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी हुने गरेको छ।
उनका अनुसार बिउ, मल, जनश्रम तथा अन्य उत्पादन खर्च कटाउँदा कुल आम्दानीको करिब ५० प्रतिशत बचत हुने गरेको छ। उनलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ।
ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक तथा विषादी छर्कने ट्यांकी लगायतका सामग्री अनुदानमा प्राप्त भएको उनले जानकारी दिए।
रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनी उपयुक्त जमिन र बजार व्यवस्थापन हुन सके कृषि क्षेत्रबाट पर्याप्त आम्दानी गर्न सकिने बताउँछन्।
खेतबारीमा काम गर्ने मानिस नपाउँदा उनी खिन्न छन्। सागसब्जीको उचित मूल्य नपाएको उनको गुनासो छ।
कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा व्यावसायिक तथा मौसमी रूपमा करिब सात हजार पाँच ५०० हेक्टरमा सागसब्जी खेती हुँदै आएको छ।



