अमेरिका-इरान तनाव चर्कियो, होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द

हिमाल प्रेस २८ असार २०८३ ११:५१ | Sunday, July 12, 2026
10
SHARES
अमेरिका-इरान तनाव चर्कियो, होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द होर्मुज जलमार्ग। तस्बिर अनप्लास

अमेरिकाले इरानको होर्मुज जलमार्गमा पुनः आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सरकारी सञ्चारमाध्यममार्फत होर्मुज जलमार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको र अमेरिकी आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएको छ।

बीबीसीको भनाइमा अमेरिकी आक्रमणको केही घण्टाभित्रै आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य आधारमा आक्रमण गरेको दाबी गरेको छ। यससँगै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले पनि इरानबाट प्रहार गरिएका मिसाइल तथा ड्रोनको सामना गरिरहेको बताएका छन्।

यो घटनाक्रम यसै साता तीनवटा व्यावसायिक तेल ट्यांकरमाथि भएका आक्रमणपछि अमेरिका र इरानबीच भएको प्रतिआक्रमणको शृंखलापछि आएको हो।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आईआरजीसीले होर्मुज जलमार्गमा साइप्रसको झन्डा बोकेको एमभी जीएफएस ग्यालेक्सी जहाजमाथि आक्रमण गरेपछि यस साताभित्र तेस्रो चरणको आक्रमण गरिएको जनाएको छ।

सेन्टकमका अनुसार जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेपछि जहाजले आफ्नो यात्रा जारी राख्न सकेन। एक जना सर्वसाधारण चालक दलका सदस्य बेपत्ता भएका छन्।

अमेरिकाले गरेको आक्रमणमा मिसाइल र ड्रोन प्रक्षेपणस्थल, सञ्चार सञ्जाल तथा तटीय निगरानी केन्द्रसहित इरानका १४० वटा सैन्य लक्ष्यमा प्रहार गरिएको सेन्टकमले जनाएको छ।

बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले सैन्य अधिकारीहरूको जानकारी उद्धृत गर्दै जहाजका चालक दललाई जहाज छाड्न बाध्य पारिएको र उनीहरू अहिले लाइफबोटमा रहेको जनाएको छ।

सेन्टकमले एक्स (पूर्व ट्विटर) मा जारी गरेको वक्तव्यमा भनिएको छ,‘व्यावसायिक जहाजमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि इरानलाई समझदारी कार्यान्वयन गर्ने अर्को अवसर दिइएको थियो तर उसले फेरि त्यसो गर्न असफल भयो।’

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले उक्त वक्तव्य जारी गर्दै लेखेका छन्,‘इरानले गलत निर्णय गर्‍यो। अब त्यसको मूल्य चुकाउनुपर्छ।’

आईआरजीसीले भने अमेरिकाले दक्षिणी तटीय क्षेत्रमा रहेका धेरै तटीय सैन्य आधार र दूरसञ्चार टावरहरूलाई निशाना बनाएको जनाएको छ।

जवाफी कारबाहीस्वरूप इरानले जोर्डनको प्रिन्स हसन एयर बेसमाथि पहिलो चरणको आक्रमण गरेको दाबी गर्दै त्यहाँको कमान्ड तथा नियन्त्रण केन्द्र र एमक्यू-९ ड्रोन राख्ने ह्याङ्गर ध्वस्त पारेको जनाएको छ।

यसअघि आइतबार इरानी सरकारी सञ्चारमाध्यमले होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको र स्वीकृत मार्गबाहिर यात्रा गरिरहेको जहाजमाथि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको बताएका थिए।

आईआरजीसीका अनुसार जहाजले पटकपटक दिइएको निर्देशन अवज्ञा गरेपछि चेतावनीस्वरूप गोली प्रहार गरिएको र त्यसपछि जहाज रोकिएको थियो।

आईआरजीसीले जलमार्ग बन्द गरिएपछि यदि अमेरिकाले कुनै सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने र क्षेत्रका थप अमेरिकी आधारहरू पनि निशानामा पर्ने चेतावनी दिएको छ।

इरानका संसद् सभामुख तथा अमेरिकासँगका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले एक्समा लेखेका छन्,‘एकतर्फी सम्झौताको युग समाप्त भएको छ।’

उनले थप लेखेका छन्,‘हामीले भनेका थियौं- वाचा पूरा गर, नत्र मूल्य चुकाऊ। अब वास्तविकताले ढोका ढकढक्याइरहेको छ।’

यसै साताको सुरुवातमा तीनवटा व्यावसायिक तेल ट्यांकर ओमानको जलक्षेत्र हुँदै अमेरिकाले सिफारिस गरेको मार्गबाट यात्रा गर्ने क्रममा आक्रमणमा परेका थिए। इरानले भने सुरक्षित मार्ग आफ्नो जलक्षेत्र हुँदै जाने छुट्टै मार्ग मात्र भएको दाबी गर्दै आएको छ।

ती घटनापछि अमेरिकाले गरेको आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूलाई निशाना बनाएको थियो।

यस घटनाले तनाव झन् बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आक्रमणले युद्धविराम समाप्त भएको बताएका छन् भने इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

यद्यपि ट्रम्पले वार्ता भने जारी रहने र मध्यस्थकर्ताहरूले प्रक्रिया पुनः सुरु गराउने प्रयास गरिरहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी अधिकारीहरूलाई ट्यांकरमाथिको आक्रमण गल्तीवश भएको र त्यसका लागि नियन्त्रणबाहिर रहेको एउटा आन्तरिक समूह जिम्मेवार रहेको जानकारी दिएको छ।

अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको बताएका छन्।

होर्मुज जलमार्ग बन्द गर्ने निर्णय नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले बदला लिन आह्वान गरेपछि आएको हो। नेतृत्व सम्हालेपछि उनको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो।

उनका पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनी २८ फेब्रुअरीमा अमेरिका-इजरायल युद्धको पहिलो दिन भएको हवाई आक्रमणमा मारिएका थिए। उनको शुक्रबार जन्मस्थल मशहदमा अन्त्येष्टि गरिएको थियो।

राज्य टेलिभिजनबाट प्रसारित वक्तव्यमा नयाँ आयातोल्लाहले प्रतिशोधलाई ‘राष्ट्रको इच्छा’ बताएका छन्।

उनले भने,‘हामी सहिद नेता तथा यी दुई युद्धका सबै सहिदहरूको रगतको बदला अपराधी र बदनाम हत्याराहरूबाट लिने वाचा गर्छौं। यो मेरो व्यक्तिगत अस्तित्व वा अन्य अधिकारीहरूको उपस्थितिमा निर्भर छैन। हामी रहौँ वा नरहौँ, यो पूरा भएरै छाड्छ।’

पछिल्ला केही दिनदेखि अन्त्येष्टि समारोहमा सहभागी धेरै इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेका थिए।

ट्रम्पले शनिबार त्यस्तो कुनै प्रयास भए अमेरिकाले इरानका सबै क्षेत्र पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए।

द वाल स्ट्रिट जर्नल लगायत अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले हालै इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको गुप्त सूचना वासिङ्टनसँग बताएको जनाएको थियो।

तर ट्रम्पले इरानले नयाँ योजना बनाएको वा त्यससम्बन्धी सूचना इजरायलबाट आएको भन्ने दुवै दाबी अस्वीकार गरेका छन्। उनले न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा आफू ‘धेरै अघिदेखि नै इरानको हत्या सूचीको पहिलो नम्बरमा’ रहेको बताएका छन्।

प्रकाशित: २८ असार २०८३ ११:५१ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast