काठमाडौँ- बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र०१–००१ च २६४४ नम्बरको जिप करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । जिप केदारस्युँ गाउँपालिका–७ काडाचौरका ३५ वर्षीय देवेन्द्र धामीले चलाएका थिए ।दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी करिब ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक देवेन्द्र धामीसहित रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्का देवी महत गम्भीर घाइते भएका छन् । त्यस्तै नवराज धामी, दिपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत, गौमती देवी महत र इन्द्र महत मध्यम अवस्थाका घाइते भएका छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बिजगडा, झोता, बागथला, इलाका प्रहरी कार्यालय दुर्गाथली तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली परिचालन गरिएको थियो । साथै सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि खटिएको थियो ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाइए पनि खराब मौसमका कारण दुई पटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि जयपृथ्वी नगरपालिका–३ स्थित पानकोट ब्यारेकमा अवतरण गरेको प्रहरीले जनाएको छ ।
हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि घाइतेहरूलाई एम्बुलेन्स तथा अन्य सवारीसाधनमार्फत उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



