खामेनीको अन्त्येष्टिका बीच फेरि चर्कियो अमेरिका-इरान तनाव

हिमाल प्रेस २६ असार २०८३ ११:५६ | Friday, July 10, 2026
2
SHARE
खामेनीको अन्त्येष्टिका बीच फेरि चर्कियो अमेरिका-इरान तनाव

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि पवित्र सहर मशहदका सडकहरूमा लाखौं शोकाकुल मानिसहरूको भीड लागेको छ।

खामेनीलाई इरानकै सबैभन्दा पवित्र शिया मुस्लिम तीर्थस्थल इमाम रेजा दरगाहमा दफन गरिएको हो। यससँगै इरानका पाँच सहर र छिमेकी इराकमा छ दिनसम्म चलेको सार्वजनिक शोक समारोहको समापन भएको छ।

सरकारी समाचार संस्था आईआरएनए का अनुसार अन्त्येष्टि यस्तो समयमा सम्पन्न भएको हो जब इरान र अमेरिकाबीच फेरि हवाई आक्रमणको आदानप्रदान भइरहेको छ। यसले खामेनीको मृत्यु भएको युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिलाई समेत संकटमा पार्ने खतरा बढाएको छ।

यसअघि इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकाले तेहरानदेखि मशहद जोड्ने रेलमार्गका दुई पुलमा रातारात बमबारी गरेको आरोप लगाउँदै यसलाई अन्त्येष्टि समारोहलाई ओझेलमा पार्ने प्रयास भनेको थियो।

खामेनी र उनका परिवारका केही सदस्यको गत फेब्रुअरी २८ मा तेहरानस्थित निवासमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु भएको थियो। उक्त आक्रमण अमेरिका र इजरायलसँगको युद्धको पहिलो दिन भएको थियो।

उनको निधनपछि उनका छोरा मोज्तबा खामेनी सर्वोच्च नेतामा नियुक्त भएका छन्। उनी सोही आक्रमणमा गम्भीर घाइते भएको बताइएपछि सार्वजनिक रूपमा देखिएका छैनन्।

५६ वर्षीय मोज्तबाले तेहरान र कुममा भएका अन्त्येष्टि समारोहमा सहभागिता जनाएनन्। उनी मशहदमा भएको दफन कार्यक्रममा पनि उपस्थित थिए वा थिएनन् भन्ने स्पष्ट भएको छैन।

बिहीबार बिहान खामेनी, उनकी नातिनी, ज्वाइँ, छोरी र मोज्तबाकी पत्नीको शव बोकेको विमान इराकबाट मशहद पुगेको थियो। यसअघि इराकका नजाफ र कर्बलास्थित शिया पवित्रस्थलहरूमा पनि हजारौं मानिसहरूले श्रद्धाञ्जली दिएका थिए।

दिउँसो इरानी टेलिभिजनले कालो लुगा लगाएका हजारौं शोकाकुल मानिसहरू मशहदको मुख्य सडकमा मार्च गरिरहेको दृश्य प्रसारण गरेको थियो। उनीहरूमध्ये धेरैले इरानी राष्ट्रिय झण्डा र प्रतिशोधको प्रतीक मानिने रातो झण्डा बोकेका थिए।

कतिपयले दिवंगत सर्वोच्च नेताको तस्बिर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको माग गर्दै प्लेकार्ड बोकेका थिए। उनीहरूको आरोपअनुसार ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चार महिनाअघि इरानमाथिको संयुक्त आक्रमणको आदेश दिएका थिए जसबाट युद्ध सुरु भएको थियो।

सडकमाथि ‘हामी उठ्नैपर्छ’ लगायतका सरकारी नारा लेखिएका ब्यानरहरू पनि झुण्ड्याइएको थियो।

३५ वर्षीया गृहिणी होदाले एएफपीसँग भनिन्हा ‘म्रा नेताको निधन आमाबुबा गुमाउनुभन्दा पनि ठूलो पीडा हो। ट्रम्प र नेतन्याहुको मृत्युले मात्रै हाम्रो पीडा कम गर्न सक्छ।’

पछि एउटा ट्रकले खामेनीको शवलाई बिस्तारै भीडबीचबाट इमाम रेजा दरगाहतर्फ लगेको थियो। साँझ पर्दासम्म शव दरगाह परिसरमा पुर्‍याइएको थियो।

इमाम रेजा शिया मुस्लिमका १२ इमाममध्ये आठौं इमाम हुन् र उनी मात्र इरानमा समाधिस्थ भएको विश्वास गरिन्छ। नवौं शताब्दीको उनको समाधिमा रहेको सुनौलो गुम्बज र मिनारहरू प्रत्येक वर्ष लाखौं तीर्थयात्रीको आकर्षण बन्छन्।

इरानको उत्तरपूर्वी सहर मशहदमा जन्मिएका खामेनीले त्यहीँ धार्मिक शिक्षा लिएका थिए। पछि उनी शिया धर्मगुरुहरूको केन्द्र मानिने कुम सरेका थिए।

सन् १९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि खामेनी सर्वोच्च नेता नियुक्त भएका थिए।

३७ वर्षको शासनकालमा उनले इरानको राजनीति र सशस्त्र बलमाथि बलियो नियन्त्रण कायम राखे। उनले आन्तरिक विरोधलाई कठोर रूपमा दबाएका थिए भने अमेरिका र इजरायलसँगको सम्बन्धमा सधैं कडा नीति अपनाएका थिए।

इरानी नेतृत्वले युद्धमा हजारौं मानिसको मृत्यु र जनवरीमा भएको विरोध प्रदर्शनपछि सुरक्षा निकायको दमनमा थप हजारौंको ज्यान गएको पृष्ठभूमिमा खामेनीको अन्त्येष्टिलाई राष्ट्रिय एकता र शक्ति प्रदर्शनको रूपमा प्रस्तुत गर्न खोजेको थियो।

तर अमेरिकासँग फेरि सुरु भएको द्वन्द्वका कारण सार्वजनिक शोक कार्यक्रम प्रभावित भएको छ।

राष्ट्रपति ट्रम्पले बिहीबार दोस्रो रात पनि अमेरिकी आक्रमण जारी राख्दै आवश्यकता परे अझ तीव्र बनाउन सकिने चेतावनी दिएका थिए। अमेरिकी सेनाले ती आक्रमणहरू इरानको हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजलाई लक्षित गर्ने क्षमतामा कमी ल्याउने उद्देश्यले गरिएको जनाएको छ।

यता इरानी रिभोलुसनरी गार्ड्सले त्यसको जवाफस्वरूप कुवेत, बहराइन र कतारस्थित अमेरिकी सैन्य संरचनामाथि आक्रमण गरेको दाबी गरेको छ।

तीन साताअघि अमेरिका र इरानबीच सबै मोर्चामा शत्रुता अन्त्य गर्ने, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रम, अमेरिकी प्रतिबन्ध र स्थायी युद्धविरामसम्बन्धी अन्तिम सम्झौताका लागि दुई महिनाको समय दिने समझदारीपत्र भएको थियो।

गत साता मध्यस्थकर्ता कतारले दोहामा भएको अप्रत्यक्ष वार्तामा दुवै पक्षबीच प्रगति भएको र खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि अर्को चरणको वार्ता हुने जनाएको थियो।

तर बुधबार राष्ट्रपति ट्रम्पले उक्त समझदारीपत्र अब ‘समाप्त भइसकेको’ विश्वास आफूलाई लागेको बताएका छन्।

प्रकाशित: २६ असार २०८३ ११:५६ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast