बीपी प्रतिष्ठान आसपासका ८ औषधि पसल सिल

हिमाल प्रेस २५ असार २०८३ २०:३९ | Thursday, July 9, 2026
12
SHARES
बीपी प्रतिष्ठान आसपासका ८ औषधि पसल सिल

इटहरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिचौलिया, अनियमितता र आर्थिक चलखेलमुक्त बनाउने अभियानलाई सुनसरी प्रशासनले थप कडा बनाएको छ।

प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १० जना पक्राउ परेपछि त्यसको विरोधमा औषधि व्यवसायी आन्दोलनमा उत्रिएका बेला प्रशासनले बिहीबार प्रतिष्ठान आसपासका आठवटा औषधि पसल सिलबन्दी गरेको छ।

जिल्ला फार्मेसी अधिकृत प्रकाश भण्डारीको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा कानुनी मापदण्डविपरीत सञ्चालन भएका पसल फेला परेपछि तत्काल सिल गरिएको हो।

अनुगमनमा केही पसलमा सञ्चालक नै अनुपस्थित रहेको, औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, आवश्यक अनुमति र कागजात नपाइएको तथा कानुनविपरीतका औषधि फेला परेको अनुगमन टोलीले जनाएको छ।

सिल गरिएका पसलमा सायांश मेडिकल हल, चाँदनी फार्मेसी, सबिन मेडिकल हल, वर्षा मेडिकल, स्काट मेडिकल हल, रितिशा फार्मेसी, सुजिता फार्मेसी र मिरियन मेडिकल हल रहेका छन्।

सम्बन्धित सञ्चालकलाई आवश्यक कागजातसहित औषधि व्यवस्था विभाग, विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ।

यसैबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रतिष्ठान सुधार अभियान कुनै पनि दबाबका कारण नरोकिने स्पष्ट पारेका छन्।

उनका अनुसार प्रतिष्ठानलाई बिचौलिया, अनियमितता र अतिक्रमणमुक्त बनाउन प्रशासनिक तथा कानुनी प्रक्रिया एकसाथ अघि बढाइएको छ। प्रतिष्ठानको अतिक्रमित जग्गाको सीमांकन, संरक्षण, करोडौँ रुपैयाँ बक्यौता असुली र बिरामीलाई निजी अस्पताल तथा मेडिकलतर्फ मोड्ने गिरोहविरुद्धको कारबाहीलाई अझ प्रभावकारी बनाइने प्रजिअ घिमिरेले बताए।

प्रतिष्ठान परिसरबाट बुधबार पक्राउ परेका १० जना बिचौलियामाथि सात दिनको म्याद थप भएको प्रहरीको भनाइ छ।

प्रकाशित: २५ असार २०८३ २०:३९ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast