काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका सय बुँदे कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको बताएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट उठेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार गठनपछि गत चैत १३ गते सार्वजनिक गरिएको कार्यसूचीको प्रगति विवरण सरकारका प्रवक्तामार्फत सार्वजनिक भइसकेको जानकारी दिए।
उनका अनुसार शासकीय सुधारका कार्यसूचीमा सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, सार्वजनिक खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि, शिक्षा, स्वास्थ्य, मानव विकास तथा सूचना प्रविधिलगायतका आधारभूत सुधारका विषय समेटिएका छन्।
अर्थमन्त्री वाग्लेले आगामी दिनमा शासकीय सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गरे।
उनले कर्मचारीमा बढ्दो कार्यचाप, नागरिकको अपेक्षा, सूचना प्रविधिमा आधारित कार्यप्रणालीसँग अनुकूल हुनुपर्ने दबाबलगायतका कारण मानसिक तनाव बढ्दै गएको उल्लेख गर्दै योग, ध्यानलगायत आरोग्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गरी जनमुखी सेवा, सदाचारिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।




