तिलोत्तमा दलित ज्ञान उत्सव सुरु

हिमाल प्रेस २१ असार २०८३ १९:५६ | Sunday, July 5, 2026
12
SHARES
तिलोत्तमा दलित ज्ञान उत्सव सुरु

बुटवल- रूपन्देहीको तिलोत्तमामा आइतबारदेखि तेस्रो संस्करणको तिलोत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए। उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गरिए पनि व्यवहारमा यसका अवशेषहरु रहेको बताउँदै त्यसलाई चिर्ने गरी स्थानीय सरकारले विभिन्न विषयमा बहस गर्नु निकै प्रशंसनिय कार्य रहेको बताए।

नेकपा एमालेका सचिव समेत रहेका विश्वकर्माले संविधानमा लेखिएअनुसार मानव मर्यादाको समाज निर्माणका लागि अब राजनीतिक पार्टीहरुले समेत त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने खाँचो औँल्याए।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले सामाजिक न्याय सहितको तिलोत्तमा नगरपालिका निर्माण गर्ने उदेश्य अनुसार तिलोत्तमा दलित ज्ञान उत्सव आयोजना गरेको बताए।

उनले तिलोत्तमा नगरपालिका भित्र कुनै पनि प्रकारको जातीय भेदभाव तथा छुवाछुत भएको अवस्थामा कानुन अनुसार कारवाही गर्ने बताए। उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सवसँगै आदिवासि जनजाती र थारु समुदायको महोत्सव गर्ने तयारीमा रहेको समेत बताए।

यस्तै उत्सवको अवसरमा उपप्रमुख जागेश्वरीदेवि चौधरीले दलित समुदायमाथि सामाजिक रुपमा भएको उपेक्षालाई अन्त्य गर्ने प्रयास स्वरुप प्रत्येक वर्ष ज्ञान उत्सव गर्ने गरिएको बताइन्।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बोल्दै वहिष्करणमा पारिएको समुदायको सवालमा तिलोत्तमा दलित ज्ञान उत्सवमार्फत राष्ट्रिय स्तरमा बहस गराउने काम गरेको बताए।

उद्घाटन सत्रलगतै विभेद विरूद्ध चित्रकला, संरचनात्मक लाभांश र उत्पीडनका मुद्दाका बारेमा प्राध्यापक डा. सञ्जिव उप्रेतीको प्रवचन गरिएको थियो। त्यसलगत्तै विभेद विरूद्ध संघसंस्था नगर सञ्जालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेदविरूद्ध कविता र सांगीतिक प्रस्तुति गरिएको सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताए।

त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्दाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको विषयमा छलफल हुने जनाइएको छ। तिलोत्तमा नगरपालिकाले २०८० सालदेखि ज्ञान उत्सव गर्दै आएको हो।

प्रकाशित: २१ असार २०८३ १९:५६ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast