बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहि शैक्षिक सत्र २०८२ देखि संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको छ। तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको हो।
नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरपालिकामा रहेका ४२ संस्थागत विद्यालयमा झन्डै २ हजार ३०० सय बढी विद्यार्थीले छात्रावृत्ति प्राप्त गर्ने जनाएको हो। नगरप्रमुख रामकृष्ण खाँणले कार्यदल गठन गरी सामुदायिक र संस्थागत विद्यालय सुधारका लागि कार्यदल गठन गरी छात्रवृत्ति कार्यान्वयन गर्न लागिएको बताए। उनले कक्षा १ देखि १२ सम्म एकीकृत परीक्षा लिएर छात्रवृत्ति कार्यान्वयन गर्नेमा तिलोत्तमा पहिलो पालिका रहेको दाबी गरे।
नगरपालिकाले गत माघ २८ मा कार्यदल गठन गरी शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग व्यापक छलफल गरी दिएको सुझावका आधारमा सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान र संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि तयार पारेको छ। सोही आधारमा नगरपालिकाले छात्रवृत्ति लागू गर्नेछ।
नगरपालिकाले जेहेन्दार विद्यार्थी, विपन्न, आदिवासी जनजाति/थारू २० प्रतिशत, दलित १५ प्रतिशत, मधेशी-मुस्लिम-अल्पसंख्यक-अपांग १० प्रतिशत र अन्य १५ प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ।
साथै सामुदायिक विद्यालय समायोजन समेत गरिएको छ। तिलोत्तमाले ६ वटा विद्यालय र ७ वटा विद्याललयमा तह मिलान गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। उनका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गरिएको बताए। विद्यालय समायोजन र तह मिलान गर्दा प्रत्यक्ष ५० लाख आर्थिक बचत भई बढी विद्यार्थी भएका विद्यालयमा लगानी गर्न सकिने उनले बताए।
परीक्षालाई व्यवस्थित गर्न नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति ,नगरस्तरीय छात्रवृत्ति परीक्षा सञ्चालन समिति, वडास्तरीय छात्रवृत्ति सहजीकरण समितिको व्यवस्था राखिएको छ।
कार्यपालिका सदस्य विपद तथा वातारण समितिका संयोजक सुरेन्द्र श्रीले तिलोत्तमाले शिक्षालाई व्यवस्थित बनाउन कार्यदल मार्फत कार्यविधि बनाएर सुधार गर्ने उदेश्यले काम गरेको बताए। यस्तै सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले आफूहरूले निकै मेहनत गरेको बताउँदै यसले शिक्षामा ठूलो सुधार गर्ने बताए।



