तिलोत्तमामा दलित ज्ञान उत्सव हुने

हिमाल प्रेस २० असार २०८३ १५:१८ | Saturday, July 4, 2026
46
SHARES
तिलोत्तमामा दलित ज्ञान उत्सव हुने

बुटवल – रूपन्देहीको तिलोत्तमामा आइतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ।

तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए। उनले तिलोत्तमा ज्ञान उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा यसले विभेदमुक्त नगर र सामाजिक न्यायलाई प्रभावकारी रुपमा अगाडि बढाउन भूमिका खलेको बताए।

नगरप्रमुख खाँणले आगामी दिनमा जनजाति समुदायको पनि यही स्वरूपको कार्यक्रम गर्ने तयारी भइरहेको बताए।

तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले तिलोत्तमा दलित ज्ञान उत्सवमा बौद्धिक बहसदेखि दलित समुदायको ज्ञानका विषयमा छलफल गर्ने गरिएको बताए। उनले योपटक विभिन्न सेसनहरु मार्फत छलफल गर्नेदेखि लिएर विभेद विरुद्ध चित्रकला र कविता समेत राखिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा सामाजिक विकास समिति संयोजक तथा ज्ञान उत्सवका संयोजकसमेत रहेका रवि सेन्चुरीले कार्यक्रमले समानता र सामाजिक न्याय एवं समुदायमा जातीय अन्तरघुलनको लागि सकारात्मक सन्देश प्रवाह गरेको बताए।

उनले जतीय कुसंस्कार अन्त्य गरी दलित समुदायको सवालमा नेपालमै स्थानीय सरकारले बहस पैरवी गर्ने प्रयास तिलोत्तमाले गरेको बताए।

आयोजकका अनुसार आइतबार एक समारोहका बीच कार्यक्रमको उद्घाटन हुनेछ। पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले समापन गर्ने कार्यतालिका रहेको छ।

पहिलो दिन विभेद विरूद्ध चित्रकला, संरचनात्मक लाभांश र उत्पीडनका मुद्दा, विभेदविरूद्ध संघ संस्था नगर सञ्जालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र इतिहार, विभेदविरूद्ध कविता र सांगितिक प्रस्तुती रहनेछ।

त्यस्तैगरी दोस्रो दिन असार २२ गते सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्दाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको विषयमा छलफल हुनेछ।

तिलोत्तमा नगरपालिकाले प्रत्येक वर्ष नीति कार्यक्रम र बजेट व्यवस्था गरी तिलोत्तमा दलित ज्ञान उत्सव गर्दै आएको छ।

प्रकाशित: २० असार २०८३ १५:१८ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast