उद्धारकर्मीहरूले हर्नान गिलसम्म पुग्न १०० घण्टाभन्दा बढी समयसम्म बिस्तारै र सावधानीपूर्वक भग्नावशेष हटाउँदै अघि बढे। अन्ततः उनीहरू गिललाई जीवितै उद्धार गर्न सफल भए। तस्बिर : एपी
काराकास- भेनेजुएलामा दुईवटा शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनसम्म थुनिएका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।
सुरक्षाकर्मी तथा उद्धारकर्मीहरूले करिब १४० टन भग्नावशेषमुनि फसेका हर्नान गिललाई पत्ता लगाएको एक सय घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार अस्पताल पुगेर गिललाई भेटिन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा गिललाई ‘जीवित चमत्कार’ को संज्ञा दिएकी छन्।
जुन २४ मा आएको शक्तिशाली दोहोरो भूकम्पमा परी बिहीबार साँझसम्म २ हजार ५९५ जनाको मृत्यु पुष्टि भएको छ भने अझै पनि दशौँ हजार मानिस बेपत्ता रहेको जनाइएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोड्रिगेजले यो विपत्तिलाई कल्पना गर्न नसकेको स्तरको प्राकृतिक त्रासदी भएको बताइन्।
सरकारले उद्धार कार्यमा ढिलाइ गरेको भन्ने आलोचनालाई अस्वीकार गर्दै उनले भूकम्पलगत्तै हजारौँ सरकारी कर्मचारी परिचालन गरिएको दाबी गरिन्।
उनले भनिन्, ‘हामीले आफ्नो सामर्थ्यले भ्याएसम्म सबै गरेका छौँ र अझ बढी प्रयास जारी राख्नेछौँ।’
‘सबैभन्दा कठिन उद्धार अभियान’
उद्धार अभियानमा संलग्न चिलीका एक अग्निनियन्त्रकले गिलको उद्धारलाई आफूले अहिलेसम्म सामना गरेको सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन अभियान भएको बताए।
कोस्टारिकाको रेडक्रसका प्यारामेडिक एलन माड्रिगलले गिलको उद्धारपछि पत्रकारहरूसँग कुरा गर्दै उनी पूर्ण रूपमा सकुशल बाहिर आएको बताए।
गिलको कमजोर स्वर पहिलोपटक आइतबार भग्नावशेषबाट सुनेका पनि माड्रिगल नै थिए। उनले भने,‘त्यो क्षण अत्यन्त भावुक थियो। सुरुमा आफ्नै कानलाई विश्वास लागेन। मैले सहकर्मीलाई पनि आवाज सुन्न अनुरोध गरेँ, कतै भ्रम त होइन भनेर।’
त्यसपछि उद्धार टोलीले उनलाई सुरक्षित निकाल्न तीव्र गतिमा अभियान अघि बढाएको थियो।
पार्किङ क्षेत्रको सानो कोठाले बचायो ज्यान
भूकम्प आउँदा गिल काटिया ला मारस्थित गालेरियास प्लाया ग्रान्दे मलसँग जोडिएको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सानो कङ्क्रिटको सुरक्षा कक्षमा ड्युटीमा थिए।
उक्त कक्षले उनको वरिपरि सुरक्षात्मक घेरा बनाएपछि १४० टन भग्नावशेषले पुरिँदा पनि उनको ज्यान जोगिएको उद्धारकर्ताहरूको अनुमान छ।
कोस्टारिकाको रेडक्रसका अर्का एक सदस्यले उद्धारअघि नै भनेका थिए,‘उहाँका नङसमेत च्यापिएको छैन।’
भग्नावशेषमै उपचार
उद्धार अभियानका क्रममा गिललाई पानी उपलब्ध गराइएको थियो भने सानो प्वालमार्फत उनको शरीरमा इन्ट्राभेनस ड्रिप समेत जोडिएको थियो।
भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका उद्धार टोलीहरू संयुक्त रूपमा उद्धार कार्यमा खटिएका थिए।
उनसम्म पुग्न बनाइएका केही सुरुङ तथा पहुँचमार्ग पटकपटक भत्किएका कारण उद्धारकर्मी र गिल दुवैको सुरक्षामा जोखिम बढेको थियो।
रातभरको प्रयासपछि उद्धार टोलीले अन्ततः उनीसँग प्रत्यक्ष दृश्य सम्पर्क स्थापित गर्न सफल भएको थियो।
सानो क्यामेराबाट खिचिएको भिडियोमा चिलीका एक अग्निनियन्त्रकले गिललाई क्यामेरातर्फ टाउको फर्काउन आग्रह गरेको सुनिन्छ।
उनको एउटा आँखा रातो देखिएको थियो भने उद्धारकर्मीहरूले धुलोबाट बचाउन पहिले नै पठाइदिएको फेस मास्क उनले लगाएका थिए।
उद्धारका क्रममा उड्ने धुलोबाट आँखा जोगाउन सुरक्षात्मक चस्मा पनि लगाउन आग्रह गरिएको थियो।
‘उहाँ निकै हँसिला व्यक्ति हुनुहुन्थ्यो’
मेक्सिको रेडक्रसका मार्को एन्टोनियो फ्रान्कोले गिललाई अत्यन्त हँसिला र सकारात्मक व्यक्ति भनेर वर्णन गरे।
उनले मेक्सिकोको समाचार संस्था मिलेनियोसँग कुरा गर्दै भने, ‘उहाँले आफूलाई मनपर्ने स्वादको हाइड्रेसन पेयसमेत माग्नुभयो। हामीले उहाँको इच्छा पूरा गरिदियौँ।’
फ्रान्कोका अनुसार गिलले उद्धारकर्तालाई निरन्तर हौसला दिँदै अघि बढ्नुहोस्, तपाईंहरू फेरि फर्केर आउनुभएकोमा खुसी लाग्यो भन्ने गर्थे।
उद्धार टोली र गिलबीच परिवार, उद्धार अभियान र भविष्यबारे लगातार कुराकानी भइरहेको उनले बताए।
उद्धारकर्मी पनि भावुक
गिललाई पहिलोपटक पत्ता लगाउने प्यारामेडिक एलन माड्रिगलका लागि यो पहिलो अन्तर्राष्ट्रिय उद्धार अभियान थियो।
उनले भने,‘एक साताअघि यहाँ आएको युवक र अब कोस्टारिका फर्किने व्यक्ति एउटै छैन। यो अनुभवले मलाई पूर्ण रूपमा परिवर्तन गरेको छ।’




