बालेन नेतृत्वको सरकारलाई ‘शंकाको लाभ’ दिन बाबुरामको आग्रह

हिमाल प्रेस १९ असार २०८३ ११:५४ | Friday, July 3, 2026
40
SHARES
बालेन नेतृत्वको सरकारलाई ‘शंकाको लाभ’ दिन बाबुरामको आग्रह

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो सय दिनलाई लिएर आआफ्नो दृष्टिकोणअनुसार फरकफरक मूल्यांकन हुनु स्वाभाविक रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परम्परागत संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा सरकारका सय दिन खासै उपलब्धिमूलक नदेखिन सक्ने, बरु पुरानो शैली भत्किन थालेकोमा आशंका र चिन्ता उत्पन्न हुन सक्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्,‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’ उनका अनुसार युग परिवर्तन, राजनीतिको पुस्तान्तरण तथा गैरराजनीतिक नयाँ युवाहरूको बढ्दो सहभागिताको दृष्टिकोणबाट हेर्दा यी सय दिनलाई पुरानो शासकीय शैलीको ध्वंस र नयाँ शैलीको निर्माणको प्रारम्भिक प्रयासका रूपमा सकारात्मक रूपमा लिन सकिन्छ। त्यसैले सरकारलाई केही समय ‘शंकाको लाभ’ दिन उपयुक्त हुने उनको धारणा छ।

भट्टराईले नेपालको जटिल भूराजनीतिक अवस्था, परनिर्भर र अल्पविकसित अर्थतन्त्र तथा तीव्र आर्थिक सामाजिक रूपान्तरणको आवश्यकतालाई ध्यानमा राख्दा सरकारका पहिलो सय दिनलाई सिकाइको अवधिका रूपमा लिनुपर्ने बताएका छन्। आगामी दिनमा अझ बढी गम्भीरता र मेहनतका साथ अघि बढ्नुपर्ने उनको सुझाव छ।

सय दिनका अनुभव र कमीकमजोरीबाट पाठ सिक्दै सुशासन र समतामूलक समृद्धिको दिशामा दृढतापूर्वक अघि बढ्न तथा भविष्यमुखी वैकल्पिक राजनीतिको आधार निर्माण गर्न सफल होस् भन्ने शुभकामना उनले नयाँ युवाबाहुल्य सरकारलाई दिएका छन्।

प्रकाशित: १९ असार २०८३ ११:५४ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast