सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा डुबेपछि उद्धार कार्यमा कठिनाइ भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार नदीको जलसतह बढेको र गाडी पूर्ण रूपमा डुबेकाले उद्धार कार्य प्रभावित भएको हो।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित सांगेतडामा दुर्घटनाग्रस्त भई करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलबाट एक जना अज्ञात पुरुषलाई भिरमा अचेत अवस्थामा उद्धार गरिएको छ। उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल सेना (गुल्म दैलेख) तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षा बेसका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।
प्रहरीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली पनि सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ।
सुर्खेत बसपार्कबाट बिहान ८ बजे छुटेको उक्त गाडीमा सुरुमा पाँच जना सवार रहेको जानकारी प्राप्त भए पनि दुर्घटनाको समयमा कति जना यात्रु थिए भन्ने यकिन हुन सकेको छैन।
गाडी डुबेको स्थान दैलेखको पाल्तडा प्रहरीचौकीबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। घटनास्थलको भौगोलिक अवस्था जटिल रहेकाले थप विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्रुवाहक माइक्रो कर्णाली नदीमा खसेर भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार जारी शोक वक्तव्यमा प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले दुर्घटनामा बेपत्ता भएका यात्रुको तीव्र खोजी, घाइतेहरूको तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।
विपद्को यस घडीमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्दै सक्रिय रूपमा सहयोग गर्न स्थानीय पार्टी पङ्क्तिलाई समेत निर्देशन दिएको प्रचण्डले बताएका छन्।




