विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने फेदिखोलाको निर्णयको स्वागत

हिमाल प्रेस १८ असार २०८३ १५:०३ | Thursday, July 2, 2026
68
SHARES
विद्यालय कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने फेदिखोलाको निर्णयको स्वागत फेदिखोला गाउँपालिका अध्यक्ष घनश्‍याम सुवेदीसँग परिषद् अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगी।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले स्याङ्जाको फेदिखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी र विद्यालय कर्मचारीको हितमा लागू गरेका निर्णयहरूको स्वागत गरेका छन्।

तिवारीका अनुसार फेदिखोला गाउँपालिकाले कुल बजेटको ३८.७९ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्दै देशकै उदाहरणीय स्थानीय तहको रूपमा आफूलाई स्थापित गरेको छ।

संघीय सरकारले शिक्षामा करिब १०.७ प्रतिशत बजेट विनियोजन गरिरहेको अवस्थामा गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको उच्च लगानी प्रशंसनीय रहेको उनले बताए।

उनले आर्थिक वर्ष २०८१/०८२ देखि विद्यालय कर्मचारी, बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णयलाई ऐतिहासिक कदमको संज्ञा दिए।

यसबाट सम्बन्धित कर्मचारी तथा शिक्षकहरूले सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध हुने सेवासुविधा प्राप्त गर्न सक्ने व्यवस्था भएको उनले उल्लेख गरे।

फेदिखोला गाउँपालिकामा १० वटा माध्यमिक र १७ वटा आधारभूत गरी २७ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्।

गाउँपालिकाले प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर तथा आईटी शिक्षक नियुक्त गरेको, सूचना प्रविधिसम्बन्धी प्रतियोगिताहरू सञ्चालन गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धन गरिरहेको तथा गाउँपालिकाभित्रका ९५.५ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै अध्ययनरत रहेको तथ्य पनि उल्लेखनीय रहेको तिवारीले बताए।

उनले गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको नेतृत्वमा सार्वजनिक शिक्षाको सुदृढीकरण, विद्यालय कर्मचारीको सामाजिक सुरक्षाको सुनिश्चितता तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि गरिएका प्रयास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने धारणा व्यक्त गरे।

नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका स्थानीय तहलाई पनि विद्यालय कर्मचारी र बालविकास शिक्षकको सामाजिक सुरक्षा तथा सेवासुविधा सुनिश्चित गर्दै फेदिखोला गाउँपालिकाको अभ्यासबाट प्रेरणा लिन आग्रह गरेको अध्यक्ष तिवारीले जानकारी दिए।

प्रकाशित: १८ असार २०८३ १५:०३ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast