काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ। महाधिवेशनपछि पार्टी कार्यालय वनस्थलीमा बुधबार बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधानअनुसार पार्टीका तीनवटा आयोगहरू गठन गरेको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए।
उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भंग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए। अनुशासन आयोगको प्रमुखमा उच्च अदालत कास्कीका पूर्वन्यायाधीशसमेत रहेका लेखनाथ पौडेललाई मनोनीत गरिएको छ।
बैठकमा अन्य पदाधिकारीको मनोनयनको विषयका कुनै छलफल नभएको उनले बताउनुभयो। बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी अनुसार आगामी बैठकहरुबाट अघि बढ्ने उनको भनाइ छ। बैठकले पहिलो महाधिवेशन सफल पार्न सहयोग गर्ने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।




