काठमाडौँमा बिहानै वर्षा, अन्य कहाँ कहाँ पर्दैछ पानी?

हिमाल प्रेस १७ असार २०८३ ६:३८ | Wednesday, July 1, 2026
12
SHARES
काठमाडौँमा बिहानै वर्षा, अन्य कहाँ कहाँ पर्दैछ पानी? पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ ।

नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भूभागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ । तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते  पूर्वी भूभागबाट नेपाल भित्रिएको थियो ।

सुरुमा कोशी प्रदेशको केही भूभागमा विस्तार भएको मनसुन असार ८ गते कोशीको बाँकी सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानसम्म फैलिएको थियो । यस वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको छ ।

अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज बुधबार दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ । देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आकलन गरिएको छ । महाशाखाका अनुसार देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । आज विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने बताएको छ । महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

प्रकाशित: १७ असार २०८३ ६:३८ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast