विश्वकपबाट बिदाइको संघारमा रहेका १० दिग्गज फुटबलर

हिमाल प्रेस १६ असार २०८३ २२:१३ | Tuesday, June 30, 2026
16
SHARES
विश्वकपबाट बिदाइको संघारमा रहेका १० दिग्गज फुटबलर अमेरिकाको क्यान्सस राज्यस्थित क्यान्सस सिटीमा सोमबार विश्वकप फुटबल प्रतियोगिताको तयारीका क्रममा प्रशिक्षण गर्दै अर्जेन्टिनाका लियोनल मेस्सी। तस्बिर : एपी/रासस

काठमाडौँ– विश्व फुटबलका केही महान् खेलाडीका लागि जारी विश्वकप सम्भवतः अन्तिम विश्वकप बन्न सक्छ। उमेर, चोट र बदलिँदो टोली संरचनाबीच लियोनेल मेसीदेखि क्रिस्टियानो रोनाल्डोसम्मका १० स्टार खेलाडीले विश्वकप मञ्चमा आफ्नो अन्तिम अध्याय लेखिरहेका हुन सक्छन्।

१. लियोनल मेस्सी (अर्जेन्टिना)

मेस्सीले विश्वकपमा उत्कृष्ट उपलब्धि सन् २०२२ मा विश्व विजेता बन्नु हो। मेसीको महानता यसबाटै प्रस्ट हुन्छ- उनले ३५ वर्षको उमेरमा २०२२ को विश्वकप जितेपछि पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएनन्।

अहिले ३९ वर्षका मेसीले यस विश्वकपमा पनि लगातार नयाँ कीर्तिमान बनाइरहेका छन्। विश्वकप इतिहासमा सबैभन्दा धेरै १९ गोल गर्ने खेलाडी उनी हुन्। उनले आठ असिस्ट पनि गरेका छन्।

मेसीले लगातार सात विश्वकप खेलमा गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्।

सन् २०१४ मा अर्जेन्टिना जर्मनीसँग फाइनलमा पराजित हुँदा उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडीको गोल्डेन बल जितेका थिए। २०२२ मा पनि यही पुरस्कार जित्दै उनले अर्जेन्टिनालाई १९८६ यताकै पहिलो विश्वकप उपाधि दिलाए।

अहिले उनको छैटौँ विश्वकप हो। उनका महान् प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोबाहेक कुनै पनि आउटफिल्ड खेलाडीले यति धेरै विश्वकप खेलेका छैनन्।

अर्को खेल उनका लागि विश्वकपमा अर्जेन्टिनाबाट ३०औँ खेल हुनेछ। २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका मेसीलाई सन् २०३० को विश्वकपमा नदेख्नु फुटबल समर्थकका लागि अस्वाभाविक अनुभव हुनेछ।

२. लुका मोड्रिक(क्रोएसिया)

उत्कृष्ट उपलब्धि : उपविजेता (२०१८)

४० वर्ष २९१ दिनको उमेरमा मोड्रिच विश्वकपमा असिस्ट गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्। उनका टोली साथी पेटार सुचिचले भने, ‘उनी २० वर्षका खेलाडीझैँ खेल्छन्। उनी अविश्वसनीय छन्। उनी हाम्रो नेता र उत्कृष्ट खेलाडी हुन्।’

२०१८ मा क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनलसम्म पुर्‍याउने र २०२२ मा तेस्रो स्थान दिलाउने यात्रामा मोड्रिचको योगदान असाधारण रह्यो।

करिब ४० लाख जनसंख्या भएको देशलाई लगातार विश्व फुटबलको शीर्ष प्रतिस्पर्धी बनाउनु आफैँमा ऐतिहासिक उपलब्धि हो। उनले पाँच विश्वकपमा २२ खेल खेलेका छन्।

३. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

उत्कृष्ट उपलब्धि : सेमिफाइनल (२००६)

विश्वकप मात्र त्यस्तो ठूलो उपाधि हो, जुन अझै रोनाल्डोको हात लागेको छैन। ४१ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा २३१ खेल र १४५ गोल सहित दुवै कीर्तिमानका धनी छन्।

२०१६ मा उनले पोर्चुगललाई युरोपियन च्याम्पियन बनाए पनि विश्वकपमा उनको उत्कृष्ट उपलब्धि पहिलो सहभागितामै सन् २००६ को सेमिफाइनल हो।

विश्वकपमा २५ खेलमा १० गोल गर्नु आफैँमा उत्कृष्ट उपलब्धि हो। साथै उनी छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

उज्बेकिस्तानविरुद्ध दुई गोल गरेपछि उनले भनेका थिए, ‘म फर्किएको छु।’

तर यो पुनरागमन अझै कति लामो रहनेछ भन्ने प्रश्न छ।

४. मनुअल न्युअर (जर्मनी)

उत्कृष्ट उपलब्धि : विजेता (२०१४)

हालका प्रदर्शनका आधारमा मात्र न्युअरको मूल्यांकन गर्नु अन्याय हुनेछ।

जर्मनीका प्रशिक्षकले उनलाई अन्तर्राष्ट्रिय संन्यासबाट फर्काउन आग्रह गर्नुको कारण उनी विश्व फुटबलका महान् गोलरक्षकमध्ये एक हुनु हो।

४० वर्षीय न्युअरले २०१४ मा विश्वकपसँगै गोल्डेन ग्लोभ पनि जितेका थिए।

यो उनको पाँचौँ विश्वकप हो।

यसपटक जर्मनी अन्तिम ३२ बाटै बाहिरिए पनि २०१४ का विश्वविजेता गोलरक्षकका रूपमा उनको स्थान इतिहासमा सुरक्षित रहनेछ।

५. नेयमार (ब्राजिल)

उत्कृष्ट उपलब्धि : सेमिफाइनल (२०१४)

विश्वकपमा नेयमारको नाम आउँदा सबैभन्दा पहिले सन् २०१४ कै प्रतियोगिता सम्झना आउँछ।

२२ वर्षीय नेयमारले पाँच खेलमा चार गोल गर्दै ब्राजिलको आशा बोकेका थिए। तर क्वार्टरफाइनलमा ढाडको हड्डी भाँचिएपछि उनको प्रतियोगिता समाप्त भयो।

त्यसपछि ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भयो।

२०१८ र २०२२ मा उनले दुई–दुई गोल गरे पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरियो।

३४ वर्षका नेयमार चोटसँग संघर्ष गरिरहेका छन्। तर विश्वकप जित्ने बाल्यकालदेखिको सपना अझै जीवित छ।

६. केभिन डे ब्रोएन (बेल्जियम)

उत्कृष्ट उपलब्धि : सेमिफाइनल (२०१८)

बेल्जियमको चर्चित ‘गोल्डेन जेनेरेसन’ ले अपेक्षित सफलता हासिल गर्न सकेन।

२०१४ मा क्वार्टरफाइनल, २०१८ मा सेमिफाइनल र २०२२ मा समूह चरणबाटै बाहिरिएको बेल्जियमका प्रमुख खेलाडी डे ब्रुइने अहिले ३५ वर्षका छन्।

यो उनको चौथो विश्वकप हो।

७. भर्जिल भान डाइक (नेदरल्यान्ड्स)

उत्कृष्ट उपलब्धि : क्वार्टरफाइनल (२०२२)

भान डाइकले विश्वकपमा केवल आठ खेल खेलेका छन्, किनभने नेदरल्यान्ड्स २०१८ को विश्वकपमा छनोट हुन सकेको थिएन।

यसपटक उनले प्रतियोगिताको सुरुआतमै गोल गरे पनि अन्तिम ३२ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजय भोगे।

३४ वर्षको उमेरमा यो सम्भवतः उनको अन्तिम विश्वकप हुन सक्छ।

८. मोहम्म सलाह (इजिप्ट)

उत्कृष्ट उपलब्धि : अन्तिम ३२ (२०२६)

इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अन्तिम ३२ मा स्थान लगभग सुरक्षित गर्दा सलाहले एक गोल र एक असिस्ट गरेका थिए।

यो उनको दोस्रो विश्वकप हो।

रुसमा भएको २०१८ विश्वकपमा उनी पूर्ण फिट नभए पनि दुई गोल गरेका थिए। विश्वकपमा उनका तीन गोल र दुई असिस्ट छन्।

इजिप्टले अन्तिम १६ मा स्थान बनायो भने उनको सामना मेसीसँग हुन सक्छ।

९. सन हेयुन मिन (दक्षिण कोरिया)

उत्कृष्ट उपलब्धि : अन्तिम १६ (२०२२)

३३ वर्षीय सन दक्षिण कोरियाका लागि विश्वकपमा सबैभन्दा धेरै तीन गोल गर्ने र १३ खेल खेल्ने खेलाडी हुन्।

तर यस विश्वकपमा उनी गोल वा असिस्ट दुवै गर्न सकेनन्। अन्तिम समूह खेलमा उनी सुरुआती टोलीबाटै बाहिर परे।

१०. साडियो माने (सेनेगल)

उत्कृष्ट उपलब्धि : अन्तिम १६ (२०२२)

सेनेगलले मानेकै नेतृत्वमा लगातार तीन विश्वकपमा स्थान बनाएको हो।

२०१८ मा उनले विश्वकपको पहिलो गोल गरे। घुँडाको चोटका कारण २०२२ को विश्वकप भने गुमाए।

३४ वर्षीय मानेलाई पनि सलाहजस्तै २०३० को विश्वकपमा देख्ने सम्भावना निकै कम मानिएको छ।

बेल्जियमविरुद्धको खेलमा सेनेगलले अन्तिम १६ मा स्थान बनाउन प्रयास गर्नेछ।

प्रकाशित: १६ असार २०८३ २२:१३ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast