कालिमाटीमा भक्तपुरबाट ल्याएको सागमा अत्याधिक विषादी, नष्ट गर्न निर्देशन

हिमाल प्रेस १६ असार २०८३ ११:१४ | Tuesday, June 30, 2026
6
SHARES
कालिमाटीमा भक्तपुरबाट ल्याएको सागमा अत्याधिक विषादी, नष्ट गर्न निर्देशन

काठमाडौँ- कालिमाटीमा भक्तपुरबाट ल्याएको सागमा अत्याधिक विषादी देखिएको छ।  कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएको हो । परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेटको मात्रा ५०.०१६० प्रतिशत देखिएकाले त्यसलाई ‘विसर्जन गर्ने’ (नष्ट गर्नुपर्ने) श्रेणीमा राखिएको छ ।

प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनामा परीक्षण गरेको थियो। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा समावेश थिए। बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा ‘उपभोग योग्य’ सीमाभित्रै रहेको पाइएको छ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका तरकारीलाई केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी खान अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ।

प्रयोगशालाले यो परीक्षण केवल कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको जनाएको छ।

प्रकाशित: १६ असार २०८३ ११:१४ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast