‘सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्छ’

हिमाल प्रेस १५ असार २०८३ १३:१० | Monday, June 29, 2026
8
SHARES
‘सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्छ’ तस्बिर : रासस

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।

‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सभामुख अर्यालले भने, ‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु।’

जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत गर्दै सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए।

सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मंगलबार उक्त अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो।

प्रकाशित: १५ असार २०८३ १३:१० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast