काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य राजनीतिक चुनौती प्रतिगमनलाई पराजित गर्नु रहेको बताएका छन्। उनले त्यसका लागि सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले समाजवाद निर्माणको बहसभन्दा अहिले लोकतन्त्र र संविधानको रक्षामा केन्द्रित हुनुपर्ने धारणा राखे।
‘अहिले समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो। त्यसका लागि लोकतान्त्रिक र वामपन्थी शक्तिहरू कार्यगत एकताका साथ अघि बढ्नुपर्छ,’ उनले भने।
ओलीले २३ र २४ भदौमा भएको राजनीतिक घटनाक्रमलाई ‘प्रतिगामी षड्यन्त्र’ को संज्ञा दिँदै त्यसले वैधानिक सरकारलाई अवैधानिक रूपमा विस्थापित गरेको आरोप लगाए। सरकार गठन, परिवर्तन वा अपदस्थ गर्ने अधिकार संसद्को हुने उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियाविपरीत सरकार परिवर्तन गरिएको दाबी गरे।
अध्यक्ष ओलीले आफ्नो पार्टीका नीति सही रहेको जिकिर गर्दै कुनै पनि एकता वा एकीकरणका नाममा नीतिमाथि पुनः छलफल गर्ने पक्षमा एमाले नरहेको बताए। ‘हाम्रा राजनीतिक, आर्थिक र सामाजिक नीतिहरू सही छन्। त्यसैले एकताको नाममा नीतिमाथि पुनः छलफल गर्ने पक्षमा एमाले छैन,’उनले भने।
उनले जनताको बहुदलीय जनवाद (जबज) लाई समयअनुकूल परिमार्जन गर्दै पार्टी अघि बढिरहेको पनि बताए। एमालेको लक्ष्य चुनाव जित्नु मात्रै नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नु रहेको उनको भनाइ थियो।
ओलीले एमालेमाथि योजनाबद्ध रूपमा भ्रम, अफवाह र गलत भाष्य फैलाइएको आरोप पनि लगाए। आफूहरूको सरकारले देश र जनताको हितविपरीत कुनै काम नगरेको दाबी गर्दै उनले केही कमजोरी भए आत्मसमीक्षा गर्न तयार रहेको बताए।
‘हामीले देश बर्बाद पारेका छैनौँ, बरु विकासको आधार तयार गरेका छौँ। जनतामा असन्तुष्टि सिर्जना हुनुको कारण हाम्रो काम होइन, हाम्रो विरुद्ध फैलाइएको भ्रम र अफवाह हो,’उनले भने।




