विश्वकपका खेलमा किन देखिएनन् ट्रम्प?

हिमाल प्रेस १३ असार २०८३ १०:४५ | Saturday, June 27, 2026
10
SHARES
विश्वकपका खेलमा किन देखिएनन् ट्रम्प? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटकको विश्वकप फुटबल प्रतियोगितामा नियमित रूपमा देखिनेछन् भन्ने धेरैको अपेक्षा थियो। अमेरिकी टोलीले समूह चरणका तीनमध्ये दुई खेल जितेर नकआउट चरणमा प्रवेश गरिसक्दा पनि ट्रम्प अहिलेसम्म खेल हेर्न रंगशालामा पुगेका छैनन्।

के यो अचम्मको विषय हो? उनी किन फुटबल प्रतियोगिता हेर्न गएनन्? के उनी फाइनलअघि कुनै खेलमा देखिनेछन्?

‘मेरा प्रिय अमेरिकी नागरिकहरू, विश्वभरका नागरिकहरू, यो भव्य उत्सवको आयोजना गर्न पाउँदा संयुक्त राज्य अमेरिका गौरवान्वित छ। विश्वकपले हाम्रो देशको मात्र होइन, पछिल्ला केही वर्षमा फुटबल खेलकै लोकप्रियतालाई पनि नयाँ उचाइमा पुर्‍याएको छ। त्यसैले संसारभरबाट यहाँ आउनुभएका सबैलाई र आगामी ३० दिन अमेरिकामा हुने यी खेल हेर्नुहुने सबै दर्शकलाई म स्वागत गर्दछु।’

यी शब्दहरू तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका थिए। उनले १७ जुन १९९४ मा सिकागोको सोल्जर फिल्डमा अमेरिकामा पहिलो पटक आयोजित विश्वकपको उद्घाटन खेलमा सहभागी हुँदै यस्तो सम्बोधन गरेका थिए।

त्यस दिन क्लिन्टनको भाषणभन्दा बढी चर्चा खेलअघि आयोजित कार्यक्रममा गायिका डायना रसले पेनाल्टी प्रहार गर्न असफल भएको घटनाले पायो। अहिले फर्केर हेर्दा क्लिन्टनको उपस्थितिको महत्त्व झन् स्पष्ट देखिन्छ।

किनभने ३२ वर्षपछि अमेरिका फेरि विश्वकप आयोजना गरिरहेको छ। प्रतियोगिता आधाभन्दा बढी सकिइसक्दा पनि वर्तमान राष्ट्रपति ट्रम्प भने एउटा पनि खेलमा पुगेका छैनन्।

यसै महिनाको थालनीमा ट्रम्पले फिफाले बेचेका टिकटहरूको संख्या प्रशंसा गर्दै यसलाई ‘फिफाको इतिहासकै सबैभन्दा सफल विश्वकप’ भनेका थिए।

त्यसैले उनी प्रतियोगिताभर सक्रिय रूपमा उपस्थित हुने व्यापक अनुमान थियो।

प्रतियोगिताअघि नै ट्रम्पले विश्वकपलाई आफ्नो प्राथमिकतामा राखेको संकेत दिएका थिए। गत वर्ष राष्ट्रपतिको शपथग्रहणअघिको चुनावी सभामा समेत उनले विश्वकपको उल्लेख गरेका थिए।

डिसेम्बरमा वासिङ्टन डीसीमा आयोजित विश्वकपको ड्र समारोहमा पनि ट्रम्पले प्रमुख भूमिका निर्वाह गरेका थिए। त्यही अवसरमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उनलाई फिफाको पहिलो शान्ति पुरस्कार प्रदान गरेका थिए।

पछिल्ला वर्षमा ट्रम्प र इन्फान्टिनोबीच निकट सम्बन्ध विकसित भएको छ। इन्फान्टिनो ट्रम्पको ह्वाइट हाउस र फ्लोरिडास्थित मार ए लागो निवास दुवैमा पुगिसकेका छन्।

ट्रम्प आफ्नो दोस्रो कार्यकालमा अन्य प्रमुख खेलकुद कार्यक्रममा पनि नियमित रूपमा देखिँदै आएका छन्। उनी सुपर बाउल, गत वर्षको क्लब विश्वकप फाइनल तथा बेथपेजमा आयोजित राइडर कप गोल्फ प्रतियोगिताको उद्घाटन दिनमा समेत उपस्थित भएका थिए।

उद्घाटन खेलभन्दा यूएफसी रोजे

१२ जुनमा लस एन्जलसमा अमेरिकाले पाराग्वेविरुद्ध खेलेको उद्घाटन खेलमा ट्रम्प अनुपस्थित रहे।

उनको स्थानमा परराष्ट्रमन्त्री मार्को रुबियो वासिङ्टनबाट त्यहाँ पुगेका थिए।

त्यसको दुई दिनपछि भने ट्रम्पले ह्वाइट हाउस परिसरमा आयोजित अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) कार्यक्रमलाई प्राथमिकता दिए। उक्त कार्यक्रम उनको ८०औँ जन्मदिन र अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको थियो।

के यो अस्वाभाविक हो?

सामान्यतया विश्वकप आयोजक राष्ट्रका राष्ट्राध्यक्ष उद्घाटन खेलमा उपस्थित हुने परम्परा छ।

चार वर्षअघि कतारका अमिर सेख तामिम बिन हमाद अल थानी आफ्नै देशको पहिलो खेलमा पुगेका थिए भने सन् २०१८ मा रुसमा आयोजित विश्वकपको उद्घाटन खेल राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा हेरेका थिए।

पूर्वराष्ट्रपति बराक ओबामाका सञ्चार निर्देशक रहिसकेका राजनीतिक रणनीतिकार फेडेरिको डे जिसस भने ट्रम्पको अनुपस्थिति अस्वाभाविक मान्दैनन्।

उनका अनुसार यूएफसी नै ट्रम्पले विशेष रूपमा अपनाएको खेल हो र त्यससँग उनको गहिरो सम्बन्ध छ।

उनले भने, ‘अन्य खेलकुद कार्यक्रमहरूमा पनि हेर्नुस्, उनी नियमित सिजनका खेलमा होइन, सुपर बाउलजस्ता सबैभन्दा ठूलो कार्यक्रममा पुग्छन्। विश्वकपमा पनि सबैभन्दा धेरै दर्शक हुने खेल फाइनल नै हो। सम्भवतः यस पटक पनि त्यही दोहोरिनेछ।’

ट्रम्प त्यसपछि अमेरिकाका अस्ट्रेलिया र टर्कीविरुद्धका खेलहरूमा पनि पुगेनन्।

डे जिससका अनुसार पूर्वराष्ट्रपति बराक ओबामा भएको भए उनले उद्घाटन समारोहमै सहभागी भएर आयोजक राष्ट्रको आतिथ्य र कूटनीतिक भूमिका निर्वाह गर्ने थिए। ट्रम्पको शैली भिन्न रहेको उनको भनाइ छ।

ट्रम्प गत महिना आफ्नै जेठा छोराको विवाहमा समेत सरकारी व्यस्तताका कारण उपस्थित हुन सकेनन्।

दर्शकको प्रतिक्रिया पनि एउटा कारण?

डे जिससका अनुसार ट्रम्प केही हदसम्म सावधान पनि हुन सक्छन्। यसै महिनाको सुरुमा न्युयोर्कमा भएको एनबीए फाइनलमा राष्ट्रिय गान बजिरहँदा उनी रंगशालामा पुग्दा दर्शकले उनीविरुद्ध हुटिङ गरेका थिए।

विश्वकपमा अझ बढी अन्तर्राष्ट्रिय दर्शक हुने भएकाले त्यस्तै प्रतिक्रिया दोहोरिन सक्ने आशंका उनको टोलीमा रहेको हुन सक्ने विश्लेषण गरिएको छ।

विशेषगरी ट्रम्प प्रशासनको आप्रवासन तथा परराष्ट्र नीतिका कारण सिर्जित विवादका कारण डेमोक्र्याट समर्थक मानिने लस एन्जलस र सियाटलजस्ता सहरमा उनीप्रति प्रतिकूल प्रतिक्रिया आउने सम्भावना रहेको ठानिएको छ।

के फाइनलअघि ट्रम्प देखिनेछन्?

फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्प १९ जुलाईमा न्यु जर्सीमा हुने विश्वकप फाइनलमा उपस्थित भएर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने योजना रहेको पुष्टि गरिसकेका छन्। ट्रम्पले पनि आफूलाई त्यसका लागि निमन्त्रणा आएको स्वीकार गरेका छन्।

ह्वाइट हाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यु जुलियानीले ट्रम्प फाइनलअघि नै कुनै खेलमा पनि देखिन सक्ने संकेत दिएका छन्।

उनले टेलिग्राफसँग भने, ‘मेरो प्रमुख अर्थात् ४७औँ राष्ट्रपति ट्रम्पलाई म करिब ३० वर्षदेखि चिन्छु। उहाँलाई सस्पेन्स मन पर्छ। मानिसलाई अन्तिम क्षणसम्म उत्सुक बनाइराख्न रुचाउनुहुन्छ। त्यसैले हेर्दै जानुहोस्, केही आश्चर्य अवश्य देख्न पाइनेछ।’

व्यस्त कार्यतालिका पनि कारण

ट्रम्पको अनुपस्थितिको अर्को कारण उनको अत्यधिक व्यस्त कार्यतालिका पनि हो।

अमेरिकी टोलीको उद्घाटन खेलताका उनी १५–१७ जुनमा फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनमा सहभागी हुने तयारीमा थिए।

त्यससँगै उनी इरानसँग शान्ति सम्झौता गराउने कूटनीतिक प्रयासमा समेत संलग्न थिए, जसको घोषणा १८ जुनमा गरिएको थियो।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आफ्नै देशको कतारविरुद्धको खेल हेर्न भ्यानकुभर पुगेका थिए भने मेक्सिकी राष्ट्रपति क्लाउडिया सेनबाउमले टिकट अत्यधिक महँगो भएकाले आफू कुनै पनि खेलमा नजाने बताएकी छन्। बीबीसीबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast