४८ टोली सहभागी यस विश्वकपमा अहिलेसम्म केही रोचक प्रतिस्पर्धा र विश्वका शीर्ष टोलीविरुद्ध तल्लो वरीयताका राष्ट्रहरूको प्रभावशाली प्रदर्शन देखिएको छ।
विश्व वरीयतामा ६४औँ स्थानमा रहेको केप भर्डे, ८१औँ स्थानको कुरासाओ, ६५औँ स्थानको घाना र ५४औँ स्थानको दक्षिण अफ्रिकाले क्रमशः तेस्रो वरीयताको स्पेन, २९औँ वरीयताको इक्वेडर, चौथो वरीयताको इंग्ल्यान्ड र २८औँ वरीयताको दक्षिण कोरियाविरुद्ध अंक खोस्न सफल भएका छन्।
यी अप्रत्याशित नतिजा भाग्यको खेल हुन् कि उत्कृष्ट रणनीति र प्रभावकारी कार्यान्वयनको परिणाम? यी खेलहरूको विश्लेषण गर्दा केही समान रणनीतिक पक्षहरू देखिन्छन्।
विपक्षीको जालमा नफस्ने रणनीति
बीबीसीका अनुसार स्पेनविरुद्ध केप भर्डेको गोलरहित बराबरी यस विश्वकपकै सबैभन्दा ठूलो आश्चर्यमध्ये एक मात्र होइन रणनीतिक हिसाबले पनि अत्यन्त प्रभावशाली प्रदर्शन थियो।
विश्वकप इतिहासको तेस्रो सबैभन्दा सानो राष्ट्र केप भर्डेले ४-५-१ को रक्षात्मक संरचनामार्फत स्पेनलाई प्रभावकारी रूपमा रोक्यो। यसको सफलता रक्षापंक्ति र मिडफिल्डबीचको दूरी अत्यन्त कम राख्नुमा निर्भर थियो।
यस्तो अवस्थामा बल आफ्नो नियन्त्रणमा धेरै राख्ने टोलीहरू विपक्षीलाई अगाडि तान्न बल पछाडि फर्काएर खेल्छन्। त्यसपछि उनीहरूले मिडफिल्ड र रक्षापंक्तिबीच खाली ठाउँ सिर्जना गर्ने प्रयास गर्छन्।
तर केप भर्डे त्यो जालमा फसेन। स्पेनले बल पछाडि फर्काउँदा पनि उनीहरूले आफ्नो रक्षात्मक संरचना यथावत् राखे। स्पेनका डिफेन्डरहरू बल लिएर अगाडि बढे पनि केप भर्डेका खेलाडीहरूले अन्तिम क्षणसम्म आफ्नो स्थान नछोडी धैर्यपूर्वक रक्षा गरे।
यसका कारण स्पेनले बीचको क्षेत्रबाट अवसर सिर्जना गर्न सकेन। अन्ततः उनीहरूलाई या त मैदानको चौडाइ प्रयोग गर्नुपर्यो वा लामो पासको सहारा लिनुपर्यो।
यही रणनीति घानाले इंग्ल्यान्डविरुद्ध पनि अपनाएको थियो। प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्डले विपक्षीलाई आकर्षित गर्न बल पछाडि खेल्ने र त्यसपछि खाली स्थानमा तीव्र आक्रमण गर्ने शैलीलाई प्राथमिकता दिएको छ।
घानाले यसलाई ध्यानमा राख्दै निकै सघन रक्षात्मक संरचना बनायो। जोर्डन आयुले इलियट एन्डरसनलाई व्यक्तिगत रूपमा पछ्याए भने अन्य खेलाडीहरू पेनाल्टी क्षेत्रको बाहिर दुई रक्षात्मक लाइनमा उभिए। यसले इंग्ल्यान्डलाई बीचको क्षेत्रमा कुनै ठाउँ उपलब्ध गराएन।
कम प्रेसिङ तर योजनाबद्ध रूपमा
टोलीले विपक्षीमाथि कति दबाब सिर्जना गरिरहेको छ भन्ने मापन गर्न ‘पीपीडीए’ प्रयोग गरिन्छ। यसको अर्थ हो- विपक्षीले एक रक्षात्मक हस्तक्षेपअघि कति पास खेल्न पायो।
यो संख्या जति ठूलो हुन्छ त्यति नै कम प्रेसिङ भएको मानिन्छ। स्पेनविरुद्ध केप भर्डेको औसत पीपीडीए ५१.२ थियो भने स्पेनको ५.९ मात्र थियो।
घानाले इंग्ल्यान्डविरुद्ध पहिलो १५ मिनेटमा ६२ पीपीडीएको तथ्यांक दर्ज गर्यो। यसले दुवै टोलीले जानाजानी निष्क्रिय देखिने रणनीति अपनाएका देखाउँछ।
खेलको अन्त्यतिर भने दुवैले प्रेसिङ बढाए। सम्भवतः अन्तिम समयमा गोल गर्ने अवसर सिर्जना गर्न उनीहरूले थप जोखिम लिएका थिए।
मैदानको चौडाइ सुरक्षित राख्नु
केही कमजोर टोली किन सफल भए भन्ने बुझ्न असफल टोलीहरूको कमजोरी पनि हेर्न आवश्यक छ। स्पेनसँग साउदी अरेबियाको हारले ‘पार्क द बस’ शैली अपनाउने टोलीहरूको एउटा प्रमुख कमजोरी उजागर गर्यो।
पाँच डिफेन्डर भए पनि साउदीको रक्षात्मक संरचना स्पष्ट थिएन। उनीहरू बारम्बार बल भएको खेलाडीतर्फ आकर्षित भए। मिडफिल्डका चार खेलाडी पनि बलतर्फ अत्यधिक सरे जसका कारण मैदानको अर्को भाग खाली भयो। स्पेनले यही कमजोरीको फाइदा उठाउँदै एक छेउबाट अर्को छेउमा छिटो बल सार्यो।
लामिन यामाल र पेड्रो पोरोले साउदीको एक विंग-ब्याकविरुद्ध दुई-एकको अवस्था सिर्जना गरे। यहीबाट स्पेनको तेस्रो गोल बन्यो। बल अर्को किनारामा पुगेपछि साउदीका खेलाडीहरू समयमै फर्कन सकेनन्।
पोरोले सहज रूपमा क्रस गरे र मिकेल ओयारजाबालले गोल पूरा गरे। स्विडेन पनि नेदरल्यान्ड्ससँग ५-१ ले हार्नुको प्रमुख कारण यही कमजोरी थियो।
५-३-२ संरचनामा तीन मिडफिल्डर मात्रै हुँदा मैदानको चौडाइ सम्हाल्न उनीहरू झन् असफल भए। नेदरल्यान्ड्सले आफ्नो दायाँ विंगरमार्फत स्विडेनको बायाँ विंग-ब्याकलाई पछाडि रोकेर राख्यो।
त्यसपछि डेन्जेल डम्फ्रिजले गहिरो स्थानबाट अगाडि दौड लगाउँदा उनलाई कसैले रोक्न सकेन। पछि स्विडेनले ४-५-१ मा परिवर्तन गरेपछि मात्रै केही सुधार देखियो जुन संरचना केप भर्डे र घानाले सुरुदेखि नै अपनाएका थिए।
प्रेसिङ तानेर लामो पास खेल्ने योजना
बलियो टोलीविरुद्ध राम्रो नतिजा निकाल्न रक्षा मात्र पर्याप्त हुँदैन। आफ्नो आक्रमण पनि प्रभावकारी हुनुपर्छ। दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्ध ३१ प्रतिशत बल नियन्त्रण राखे पनि १४ प्रहार गर्यो। दक्षिण कोरियाले सात मात्र प्रहार गर्न सक्यो।
यसको मुख्य कारण गोलकिपरबाट अन्धाधुन्ध लामो पास नखेली योजनाबद्ध रूपमा बल माथि पुर्याउनु थियो। केप भर्डे, इराक र दक्षिण अफ्रिकाले छोटो गोलकिकबाट खेल सुरु गरे। खेलाडीहरू एकअर्काबाट धेरै टाढा उभिए।
यसले विपक्षीलाई म्यान-टु-म्यान प्रेसिङ गर्न धेरै दूरी दौडिन बाध्य बनायो। त्यही समयमा डिफेन्डरहरूले खुला स्थानमा रहेका मिडफिल्डर वा फरवार्डलाई बल पुर्याए। यद्यपि यस्तो शैली जोखिमरहित भने थिएन।
दक्षिण अफ्रिकाले मेक्सिकोविरुद्ध र इराकले नर्वेविरुद्ध यस्तै अवस्थामा बल गुमाएर गोल बेहोरे। तर उनीहरूले धेरै राम्रा अवसर पनि सिर्जना गरे। अन्तिम प्रहार अझ प्रभावकारी भएको भए खेलको नतिजा फरक हुन सक्थ्यो।
दक्षिण कोरियाले उच्च प्रेसिङ गर्दा पनि दक्षिण अफ्रिकाले आफ्नो शैली परिवर्तन गरेन। उनीहरूले सही समयमा लामो पास खेल्दै तीव्र प्रतिआक्रमण गरे र त्यही गोलले उनीहरूलाई अर्को चरणमा पुर्यायो।
अनि चाहिन्छ केही व्यक्तिगत उत्कृष्टता पनि
यी उदाहरणहरूले विश्व वरीयता जस्तोसुकै भए पनि धेरै राष्ट्रहरूको रणनीतिक क्षमता उल्लेखनीय रूपमा बढेको देखाउँछन्। खेलाडीहरूको व्यक्तिगत स्तर केही कम भए पनि सही रणनीति र सामूहिक अनुशासनका कारण उनीहरूले विश्वका उत्कृष्ट टोलीलाई चुनौती दिन सके। तर सफलताका लागि केही कुरा आफ्नो पक्षमा पनि हुनुपर्छ।
यस प्रतियोगितामा ४० वर्षीय गोलकिपर भोजिन्हाले स्पेनविरुद्ध शानदार बचाउ गर्दै धेरै समर्थकको मन जिते। कुरासाओका गोलरक्षक एलोय रुमले एकै खेलमा १५ बचाउ गर्दै विश्वकपको कीर्तिमान बराबरी गरे र आफ्नो टोलीलाई इतिहासकै पहिलो अंक दिलाउन योगदान दिए।




