शेखरसँग प्रचण्ड र नेपालको भेट

हिमाल प्रेस १२ असार २०८३ १७:३९ | Friday, June 26, 2026
16
SHARES
शेखरसँग प्रचण्ड र नेपालको भेट

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग भेट गरेका छन्।

तीनै जनाबीच शुक्रबार विराटनगरमा भेटघाट भएको हो। पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपाल पार्टीको कोशी प्रदेशको एकता तथा प्रशिक्षण कार्यक्रममा भाग लिन विराटनगर पुगेका थिए।

कांग्रेस नेता कोइरालाको विराटनगरस्थित निवासमा तीनै नेताबीच कुराकानी भएको हो।

भेटका क्रममा देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ।

झण्डै ४५ मिनेट चलेको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका, प्रमुख दलहरूबीचको सहकार्य, नेपाली कांग्रेसको पछिल्लो अवस्था तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको बताए। उनले रास्वपाको महाधिवेशन, कांग्रेसको पछिल्लो अवस्था तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि विचार आदानप्रदान भएको जानकारी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भेटलाई सामान्य राजनीतिक संवादका रूपमा व्याख्या गर्दै देशको वर्तमान अवस्थाबारे विचार आदानप्रदान भएको बताए।

नेताहरूले केही समयअघि कोइराला निवासमा भएको आगलागीपछिको अवस्था अवलोकन गर्दै कोइराला परिवारसँग भेटघाट पनि गरेका थिए। भेटका क्रममा प्रचण्डले बैठक कक्षतर्फ संकेत गर्दै ‘गिरिजाबाबुकै बैठक कक्ष रहेछ होइन ?’ भनेर सोध्दा डा. कोइरालाले ‘त्यही हो’ भन्दै जवाफ दिएका थिए।

पछिल्लो समय मुलुकको विकसित राजनीतिक परिस्थितिका बीच प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद बढिरहेका बेला विराटनगरमा भएको प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १२ असार २०८३ १७:३९ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast