लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्ड। तस्बिर : एपी/रासस
काठमाडौँ- विश्वकप २०२६ को समूह चरण आधा पार हुँदै गर्दा प्रतियोगिताले थुप्रै अविस्मरणीय क्षण, उत्कृष्ट व्यक्तिगत प्रदर्शन र दर्शकलाई रोमाञ्चित बनाउने खालका नतिजा आएका छन्। विश्व फुटबलका सुपरस्टार लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, किलियन एम्बाप्पे र एर्लिङ हालान्डले आफ्नो प्रभाव देखाइरहेका बेला केही अपेक्षाभन्दा बाहिरका टोली र खेलाडी पनि चर्चामा आएका छन्।
प्रतियोगिताको हालसम्मकै उत्कृष्ट क्षणमध्ये अल्जेरियाविरुद्ध अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गरेको ह्याट्रिकलाई अग्रस्थानमा राखिएको छ। उक्त ह्याट्रिकसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम छन्। ३९ वर्षको उमेरमा पनि मेस्सीले दुई खेलमा पाँच गोल गर्दै आफ्नो जादु कायम राखेका छन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले इतिहास रचेका छन्। उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै उनी विश्वकपका छवटा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने।
फ्रान्सका किलियन एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै ओलिभिए जिरुडको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलको कीर्तिमान तोडेका छन्।
यस विश्वकपमा सानो टोली केप भर्डेले पनि सबैको ध्यान खिचेको छ। उरुग्वेविरुद्ध केभिन पिनाले गरेको गोलले टोलीलाई अग्रता दिलाएको थियो, जुन प्रतियोगिताकै स्मरणीय क्षणमध्ये एक बन्यो। स्पेनसँग गोलरहित बराबरी खेल्दा ४० वर्षीय गोलकिपर भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनले उनलाई विश्वव्यापी चर्चामा ल्याएको छ।
डीआर कंगोका योआने विस्साले पोर्चुगलविरुद्ध बराबरी गोल गर्दै आफ्नो देशलाई इतिहासकै पहिलो विश्वकप अंक दिलाए। कुरासाओका लिभानो कोमेन्सियाले जर्मनीविरुद्ध गरेको बराबरी गोलले सबैलाई आश्चर्यचकित बनायो। इंग्ल्यान्डका ह्यारी केनले क्रोएसियाविरुद्ध गोल गर्दै ग्यारी लाइनकरको विश्वकप गोल कीर्तिमान बराबरी गरेका छन् भने क्यानडाका जोनाथन डेभिडले कतारविरुद्ध ह्याट्रिक गर्दै टोलीलाई ऐतिहासिक ६–० को जित दिलाए।
उत्कृष्ट खेलाडीको सूचीमा मेस्सी शीर्षमा
हालसम्मको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरूको सूचीमा मेस्सी शीर्ष स्थानमा छन्। एम्बाप्पे चार गोलसहित दोस्रो स्थानमा छन् भने नर्वेका एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकपमै घातक फिनिसिङ प्रदर्शन गर्दै तेस्रो स्थान बनाएका छन्।
जर्मनीका डेनिस उन्डाभले केवल ५६ मिनेट खेल्दा तीन गोल र दुई असिस्ट दिएका छन्। ब्राजिलका भिनिसियस जुनियर, फ्रान्सका माइकल ओलिसे, मोरक्कोका युवा मिडफिल्डर अयुब बुआद्दी, आइभरी कोस्टका यान डियोमान्डे, कोलम्बियाका ड्यानियल मुनोज र क्यानडाका जोनाथन डेभिड पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सूचीमा परेका छन्।
मेस्सीको गोल उत्कृष्ट
प्रतियोगिताका उत्कृष्ट गोलमध्ये मेस्सीले अल्जेरियाविरुद्ध गरेको गोललाई पहिलो स्थानमा राखिएको छ। उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल सिधै पोस्टको कुनामा पुगेको थियो।
एम्बाप्पेले सेनेगलविरुद्ध गरेको शक्तिशाली लामो दूरीको प्रहार दोस्रो उत्कृष्ट गोल बनेको छ। अमेरिकाका फोलारिन बालोगुन, जियो रेयना, स्विडेनका यासिन अयारी, ब्राजिलका भिनिसियस जुनियर, बोस्नियाका एर्मिन माहमिक, जोर्डनका अली ओल्वान, कोलम्बियाका ड्यानियल मुनोज र जर्मनीका फेलिक्स नेमेचाका गोल पनि उत्कृष्ट गोलहरूको सूचीमा परेका छन्।
समूह चरणका निर्णायक खेल बाँकी रहेकाले आगामी दिनमा अझ नयाँ कीर्तिमान, स्मरणीय क्षण र आकर्षक गोलहरू देख्न पाइने अपेक्षा गरिएको छ। हालसम्म भने मेस्सी, एम्बाप्पे र हालान्डले विश्वकपको मुख्य आकर्षणका रूपमा आफूलाई स्थापित गरेका छन्।




