काठमाडौँ- नेकपा एमाले संसदीय दलको छैटौँ बैठक मंगलबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य र संसदीय दलका नेता रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था तथा संसद्मा नेकपा एमालेले निर्वाह गर्नुपर्ने भूमिकाबारे मार्गदर्शन गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
बैठकले अध्यक्ष ओलीको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्दै सातबुँदे प्रस्ताव पारित गरेको छ। प्रस्तावमार्फत एमालेले सरकारको कार्यशैली, कानुनी शासनको अवस्था, मूल्यवृद्धि, मानवअधिकार र कृषि क्षेत्रमा देखिएका समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
पारित प्रस्तावमा एमालेले आफ्नो पार्टीका उपाध्यक्ष विष्णु पौडेलमाथि पूर्वाग्रही र अपमानजनक ढंगले, अपराधीसरह व्यवहार गर्दै पक्राउ गरिएको आरोप लगाएको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनविपरीत भएको भन्दै पौडेलको बिनासर्त रिहाइको माग गरिएको छ।
त्यसैगरी संसदीय मोर्चालाई थप सशक्त, गुणात्मक र रचनात्मक बनाउँदै पार्टीसँग समन्वय गरेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सरकारले विधिको शासनविपरीत गतिविधि गरिरहेको आरोप लगाउँदै एमालेले सरकारको व्यवहार र कार्यशैलीविरुद्ध संसद्भित्र दृढतापूर्वक संघर्ष जारी राख्ने जनाएको छ।
बैठकले चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग पनि गरेको छ।
प्रस्तावमा देशमा ‘राज्य आतंक’ बढेको, महँगी र दैनिक उपभोग्य वस्तुसहित पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण, मानवअधिकार संरक्षण तथा राज्यका दमनात्मक गतिविधि रोक्न सरकारसँग माग गरिएको छ।
यस्तै, प्राकृतिक विपद् न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउँदै किसानलाई आवश्यक मलखादको सहज उपलब्धता सुनिश्चित गर्न पनि बैठकले माग गरेको छ।
बैठकले नेपालको सीमा मिचिने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा एमाले दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।




