सुशील भण्डारीले ल्याए कथा सङ्ग्रह ‘घाम छायाँ’

हिमाल प्रेस ८ असार २०८३ १७:०१ | Monday, June 22, 2026
8
SHARES
सुशील भण्डारीले ल्याए कथा सङ्ग्रह ‘घाम छायाँ’

कैलाली- आर्थिक अभाव, पारिवारिक कठिनाइ र दुर्गम गाउँको संघर्षपूर्ण परिवेशका बीच १४ वर्षीय विद्यार्थी तथा युवा स्रष्टा सुशील भण्डारीले आफ्नो पहिलो कथा सङ्ग्रह ‘घाम छायाँ’ प्रकाशन गरेका छन्।

डोटीको कोटिला गाउँमा जन्मिएका भण्डारी हाल कैलालीमा बसोबास गर्दै अध्ययनरत छन्। पहाडी ग्रामीण परिवेशमा हुर्किएका उनले बाल्यकालदेखि नै जीवनका विविध संघर्ष, आर्थिक अभाव र सामाजिक यथार्थलाई नजिकबाट अनुभव गरेका छन्। जंगलको बीचमा रहेको एकान्त घरमा बितेको बाल्यकालले उनको सोच र सिर्जनशीलतामा गहिरो प्रभाव पारेको बताइन्छ।

सरकारी विद्यालयमा अध्ययन गरिरहेका भण्डारीले सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद साहित्यप्रतिको लगावलाई निरन्तरता दिएका छन्। सोही लगन र मेहनतको परिणामस्वरूप १५२ पृष्ठको कथा सङ्ग्रह ‘घाम छायाँ’ पाठकमाझ आएको हो।

कथा सङ्ग्रहमा समाजका विविध पक्ष, गरिबी, संघर्ष, आशा, निराशा, मानवीय संवेदना, पारिवारिक सम्बन्ध तथा जीवनका यथार्थ चित्रण गरिएका छन्। लेखक भण्डारीका अनुसार पुस्तकले पाठकलाई मनोरञ्जन मात्र नभई जीवनलाई बुझ्ने दृष्टिकोण प्रदान गर्ने प्रयास गरेको छ।

कम उमेरमै पुस्तक प्रकाशन गर्न सफल भएका भण्डारीको साहित्यिक यात्रा धेरै युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने विश्वास गरिएको छ। उनका पिता दुर्गाराज भण्डारी र माता धौलीदेवी भण्डारी हुन्।

नेपाली साहित्यमा उदाउँदा युवा लेखकका रूपमा चिनिएका भण्डारीले आगामी दिनमा थप साहित्यिक कृतिहरू सिर्जना गर्दै अध्ययन र साहित्यिक यात्रालाई सँगसँगै अघि बढाउने लक्ष्य लिएका छन्।

प्रकाशित: ८ असार २०८३ १७:०१ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast