काठमाडौँ- वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार स्वर्गीय दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार-२०८३’ यस वर्ष भारतको मणिपुरमा रहेर नेपाली भाषा साहित्यको विकासमा योगदान पुर्याउँदै आएका साहित्यकार भवानी अधिकारी र नेपाली चलचित्रका वरिष्ठ निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ।
दाहाल यज्ञनिधि सुधा सदनको साउन ९ गते बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको संस्थाका उपाध्यक्ष डा.रमेश शुभेच्छुले जानकारी दिए। शुभेच्छुका अनुसार प्रतिकूल परिस्थितिमा पनि नेपाली भाषा, साहित्य, शिक्षा, कला तथा समावेशी संस्कृतिको प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएबापत अधिकारी र सुब्बालाई सम्मान गर्न लागिएको हो। पुरस्कारमा जनही रु.१ लाख ५० हजार नगद तथा ताम्रपत्र प्रदान गरिनेछ।
साहित्यकार भवानी अधिकारीले पूर्वोत्तर भारतको मणिपुरमा रहेर नेपाली भाषा साहित्य, शिक्षण तथा पाठ्यक्रम निर्माणमा दुई दशकभन्दा बढी समयदेखि योगदान दिँदै आएका छन्। उनका कोरौगी मरोक मङाल, मनका आवेग, आँखीझ्यालभित्र मणिपुर, मेरो लोकताक र उन्मुक्त उडान लगायतका कृति प्रकाशित छन्।
उनले एउटा पिस्तौल एउटा कुन्द पुष्प र मरुभूमि जस्ता कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन्। उनी सन् २०२० को साहित्य अकादमी अनुवाद पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।
त्यसैगरी, निर्देशक नवीन सुब्बाले नेपाली चलचित्र क्षेत्रमा मौलिक विषयवस्तु र सीमान्तीकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्याउने उल्लेखनीय योगदान पुर्याएका छन्। उनले तरेबा, खाङ्ग्री, नुमाफुङ, दलन, गुडबाइ काठमाडौँ, सिंहदरबार-२ तथा गाउँ आएको बाटो लगायत चर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरेका छन्। हाल उनी लाहुरे जुत्ता नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन्।
पुरस्कार वितरण समारोह साउन २५ गते सोमबार अपराह्न २:३० बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघर (माथिल्लो हल) मा आयोजना गरिने संस्थाले जनाएको छ।
२०१० साल साउन ८ गते खोटाङमा जन्मिएका दाहाल यज्ञनिधि नेपाली पत्रकारिता र साहित्यका विशिष्ट व्यक्तित्व थिए। उनको २०७५ साल साउन २५ गते निधन भएको थियो। उनका जदौका निबन्ध, जदौका ३४ निबन्ध, खुला आकाश (गीति एल्बम), दाहाल यज्ञनिधिका कविता तथा जदौ लगायतका कृति प्रकाशित छन्। उनको जीवनी र व्यक्तित्वमा केन्द्रित कृतिसमेत प्रकाशित भइसकेका छन्।
दाहालका बारेमा ‘जदौ’ शीर्षकको पुस्तक डा.शुभेच्छुले २०६९ मा प्रकाशित गरेका थिए।


