काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेतासमेत रहेका वालेन्द्र शाह (बालेन) ले विकास, सुशासन र पार्टीको दृष्टिकोणबारे अभिव्यक्ति दिएका छन्।
चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीलाई विकासवादी पार्टीका रूपमा अगाडि बढाइने बताए।
सम्बोधनका क्रममा उनले आफ्नो राष्ट्रियता, शासन प्रणाली र पार्टीको दिशाबारे विभिन्न टिप्पणी गरे। उनले भने,‘हाउभाउ हेर्दा अलि अनियन्त्रित देखिएला तर हामी नियन्त्रित छौं। हाम्रो विचारको बारेमा चिन्ता गरेका देख्यौं, हामी विकासवादी पार्टी हौं।’
उनले राष्ट्रियता र राज्य संयन्त्रप्रति उठ्ने शंका-आशंकाबारे पनि टिप्पणी गरे। भने, ‘मेरो राष्ट्रियताप्रति कसैले चिन्ता लिनुपर्दैन। अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्ष पनि सोधपुछ गर्नुपर्छ।’
सीमाको विषय र अन्तर्राष्ट्रिय मध्यस्थताबारे उठेका चर्चालाई पनि उनले सम्बोधन गरे। ‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन। हामीले बेलायतलाई मध्यस्थकर्ता राख्न खोजेको होइन।’
उनले पार्टीको गति र लक्ष्यबारे पनि बताए। ‘हाम्रो गाडी गन्तव्यमा पुग्नुअघि ब्रेक लाग्दैन। यो लोकल रोडमा गुडेको होइन, एक्सप्रेस हाइवेमा छौं,’ उनले भने।
उनले पार्टीको उद्देश्य नियन्त्रणभन्दा बाहिर नभएको दाबी गरे। ‘हाम्रो गाडी अनियन्त्रित पनि छैन। हामी हावा होइन, हामीले बाढी ल्याएर खोला फर्काएका हौं।’




