महाधिवेशनमा स्वर्णिमले भने- विद्रोह मात्र होइन, निर्माणको पार्टी बन्दैछौं

हिमाल प्रेस ७ असार २०८३ १६:०५ | Sunday, June 21, 2026
6
SHARES
महाधिवेशनमा स्वर्णिमले भने- विद्रोह मात्र होइन, निर्माणको पार्टी बन्दैछौं

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर उद्घाटन सत्रको शुभारम्भ गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत घण्टी बजाएर उद्घाटन प्रक्रियामा सहभागी गराइएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा केवल विद्रोहको आवाज मात्र नभई निर्माण र रूपान्तरणको राजनीतिक शक्ति बन्ने दिशामा अघि बढेको बताए।

उनले भने, ‘हामी दलको एउटा महाधिवेशनमा मात्र आएका छैनौं, हामी नेपालको नयाँ अध्याय लेख्न आएका छौं। जब इमानदार मान्छेहरू राजनीतिबाट निराश बने तब रास्वपा लोकतान्त्रिक विद्रोहको आवाज बन्न सफल भयो।’

वाग्लेले समन्यायिक समाज निर्माण, प्रतिभाका आधारमा अवसर सुनिश्चित गर्ने व्यवस्था तथा उद्यमीहरूले बिना भय लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका लोकतान्त्रिक उपलब्धिहरूको सम्मान गर्दै ती उपलब्धिलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याए।

यसैबीच, स्वागत मन्तव्यका क्रममा भरतपुर नगर सभापति सीता ज्ञवालीले रवि लामिछाने र बालेन शाहबीचको सम्बन्धलाई कृष्ण-अर्जुनको सम्बन्धजस्तै सहकार्यपूर्ण र लक्ष्यकेन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिन्।

महाधिवेशनस्थलमा अत्यधिक गर्मीका कारण केही सहभागी अस्वस्थ बनेका छन्। अस्वस्थ भएकामध्ये कतिपयलाई एम्बुलेन्समार्फत उपचारका लागि पठाइएको छ भने केहीलाई स्वास्थ्य सहायता कक्षमा राखेर उपचार गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ७ असार २०८३ १६:०५ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast