काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमा रास्वपालाई शुभकामना दिँदै छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ रहेको उल्लेख गरेका छन्।
‘संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भइरहेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु,’ भट्टराईले भनेका छन्, ‘स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ। जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशन सामु रहेको छ।’
उनले लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दी लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि भएको चर्चा गर्दै रास्वपाबाट त्यसप्रतिको प्रतिवद्धता खोजेका छन्।
‘लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, खुला र बहुलवादी समाज नेपाली जनताको एक शताब्दी लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि हुन्,’ भट्टराईले भनेका छन्, ‘संसद्को ठूलो दल अनि एकल सरकार सञ्चालनको नेतृत्व गरिरहेको दलबाट यी मूल्य मान्यताबारे उच्च सम्मान र प्रतिबद्धताको अपेक्षा गरिन्छ। समस्त रास्वपाजनमा हार्दिक शुभकामना।’




