मंसिर २६–२८ गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय

हिमाल प्रेस ६ असार २०८३ १६:२७ | Saturday, June 20, 2026
8
SHARES
मंसिर २६–२८ गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रबार र शनिबार काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको जानकारी दिए।

समितिमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार, विभाग प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, सांसद र भ्रातृ संगठनका अध्यक्षहरुलाई राखिएको उनले बताए।

केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिकासहित निर्वाचन निर्देशिका र नियमावलीसमेत पारित गरेको छ। जसअनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन र सक्रिय सदस्यता वितरण कार्य सम्पन्न गर्नुपर्नेछ।

त्यस्तै असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने राप्रपाको कार्यतालिका छ। कात्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरुले महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ।

राप्रपा बैठकले सरकारको सय दिनको कार्यकालको समीक्षा गर्दै असन्तुष्टि व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए। दुई तिहाई जनमतसहित सत्तारोहण गरेको सरकारले विधिको शासन र सुशासनका बाचाहरु गरे पनि व्यवहारमा सुरुवाती दिनमै गम्भीर खाडल र सन्देहास्पद संकेतहरु देखिएको बैठकले ठहर गरेको उनको भनाइ छ।

प्रधानमन्त्री स्वयं संसदप्रति उत्तरादी नरहेको, सामाजिक सञ्जालको ‘एल्गोरिदम’ माथि संगठित नियन्त्रण जमाएर आलोचना गर्नेहरुलाई देशविरोधी देखाउन खोजेको र सिंहदरबारबाट मन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवहरुले अनधिकृत रुपमा कार्यकारी भूमिका अभ्यास गर्दै कर्मचारी र संवैधानिक निकायलाई धम्क्याउने गरेको आरोप राप्रपाले लगाएको छ।

प्रकाशित: ६ असार २०८३ १६:२७ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast