काठमाडौँ- बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
शुक्रबार साँझ बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकस्थित दशरथचन्द राजमार्गमा बस दुर्घटना भएको हो।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय बीरेन्द्रबहादुर चन्दको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घाइते भएकामध्ये पाँच जनाका अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ।
डीएसपी थापाले धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस गति अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको बताए।
दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.५१ गुल्म बैतडीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरको कमान्डमा तथा अस्थायी मनसुन प्रतिकार्य वेश छेला बैतडीका साथै नेपाल सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो।




