संसद्‌बाट बजेट पास गर्ने तयारी, सम्बन्धित मन्त्रालयको जबाफ दिने

हिमाल प्रेस ४ असार २०८३ ६:२४ | Thursday, June 18, 2026
18
SHARES
संसद्‌बाट बजेट पास गर्ने तयारी, सम्बन्धित मन्त्रालयको जबाफ दिने सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको दोस्रो अधिवेशनको २६ औँ बैठक आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार आज विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

ससद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा सम्माननीय सभामुखले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकहरूमा सदस्यहरूले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। खर्च कटौतीको प्रस्ताव राख्ने २० जना सांसद रहेका छन्। आजै विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। त्यसलगत्तै अर्थ मन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

 

प्रकाशित: ४ असार २०८३ ६:२४ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast