मानव मस्तिष्कलाई कुनै प्रकारको मेसिनका रूपमा हेर्ने प्रचलन निकै पुरानो हो। कृत्रिम मेधा (एआई) का अग्रणी व्यक्तित्व मार्भिन मिन्स्कीले मानिसलाई उत्तेजक शैलीमा मासुबाट बनेका मेसिन भन्ने गर्थे। कम्प्युटर युगअघिको मस्तिष्कलाई ‘जादुमय यन्त्र’ सँग तुलना गरिएको थियो, जहाँ लाखौँ चम्किला धागा बोक्ने सटलहरूले लगातार परिवर्तनशील बुनाइ गरिरहेका हुन्छन्। विज्ञान लेखक माइकल पोलानले आफ्नो नयाँ पुस्तक ‘अ वर्ड अपियर्स’मा यस उपमाको चर्चा गरेका छन्।
त्यसैले एआई क्षेत्रमा अग्रपङ्क्तिमा रहेका केही व्यक्तिले आफ्ना मोडल चाँडै सचेत बन्न सक्छन् भन्ने विश्वास गर्नु कुनै आश्चर्यको कुरा होइन। मस्तिष्क कुनै कम्प्युटरजस्तै हो भने अत्यन्त शक्तिशाली कम्प्युटरले पनि चेतना विकास किन नगर्ला?
तर यो प्रविधिविद्हरूका लागि निकै अस्पष्ट र जटिल क्षेत्र हो। किनभने चेतना वास्तवमा के हो, यो कसरी र किन उत्पन्न हुन्छ भन्ने विषयमा कसैको एकमत छैन। चेतनाको ‘कठिन समस्या’ बुझ्ने प्रयासमा २८० पृष्ठ लामो पुस्तक लेखेका पोलानले अन्त्यमा आफूले थालनीभन्दा झन् कम बुझेको अनुभव भएको स्वीकार गरेका छन्।
तर हाम्रो चिन्ता नयाँ मेसिनहरू साँच्चिकै मानवीय गुणहरू प्राप्त गर्दै माथि उक्लने होइन। बरु हामी आफूमाथिको विश्वास गुमाउँदै जाँदा र आफैँ मेसिनजस्ता बन्दै जाँदा ‘मानव हुनु’ को मापदण्ड क्रमशः तल झर्दै जाने हो।
अर्थशास्त्री टायलर काउएनले हालैको एक लेखमा ‘मेसिनभित्र कुनै आत्मा छैन’ भनेका थिए। उनले अझ अगाडि बढेर ‘सायद अझ महत्त्वपूर्ण कुरा त यो हो कि तपाईंको आफ्नै मानवीय मेसिनभित्र पनि त्यस्तो आत्मा निकै कम छ’ भने। उनका अनुसार हाम्रो मस्तिष्कले धेरै निर्णय हामीलाई थाहै नदिई गरिरहेको हुन्छ।
काउएनले ‘हामीले आफ्नो आत्मबोधको मूल्य घटाउनुपर्छ’ भनेर सम्भवतः व्यंग्यात्मक शैलीमा भनेका हुन्। तर एआई कम्पनी ओपन एआईका प्रमुख साम एल्टमनका हकमा भने त्यस्तो भन्न सकिँदैन। उनले एआई मोडलहरूको अत्यधिक ऊर्जा खपतको बचाउ गर्दै भनेका छन्, ‘मानिसलाई प्रशिक्षण दिन पनि धेरै ऊर्जा लाग्छ।’ उनका अनुसार ‘बुद्धिमान बन्नुअघि मानिसले झन्डै २० वर्ष बाँच्छ र त्यस अवधिमा उपभोग गरेको सम्पूर्ण खाना पनि ऊर्जा हो।’
एलन मस्कले केही जन्मजात मानवीय गुणहरूलाई कमजोरीका रूपमा हेर्छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘सहानुभूतिको दुरुपयोगबाट सावधान रहनुहोस्।’ साइबर सुरक्षाको भाषामा ‘एक्स्प्लोइट’ भनेको प्रणालीको कमजोरीको फाइदा उठाउने कोड हो। मस्कका अनुसार गहिरो सोचसहितको सहानुभूति राम्रो र उचित हो, तर प्रतिक्रियात्मक र सतही सहानुभूति सभ्यताका लागि घातक हुन सक्छ।
मानिसलाई मेसिनसँग तुलना गर्ने यो बानीले हामीलाई बुद्धिमान रोबोट वा एआई एजेन्टहरूको तुलनामा कम प्रभावकारी विकल्पका रूपमा हेर्न प्रेरित गर्छ। मानौँ हामी धेरै कमजोर छौँ, अत्यधिक भावनात्मक छौँ वा पर्याप्त थाक्दैनौँ भन्ने धारणा फैलाइन्छ। यद्यपि यी दाबी अझै पूर्ण रूपमा सत्य भइसकेका छैनन्- उदाहरणका लागि धेरै मानवरूपी रोबोट केही घण्टापछि पुनः चार्ज गर्नुपर्छ तर केही रोजगारदातामा यस्तो सोच बिस्तारै देखिन थालेको छ। हालै स्ट्यान्डर्ड चार्टर्डका प्रमुख कार्यकारीले ‘कम मूल्यका मानव स्रोतहरूलाई हामीले गरिरहेको वित्तीय तथा लगानी पुँजीले प्रतिस्थापन गर्ने’ कुरा गरेका थिए।
उनको उक्त अभिव्यक्तिको व्यापक आलोचना भयो। हामीमध्ये धेरैले पनि अनजानेमै यही सोचलाई स्वीकार गरेका छौँ। हामी उत्पादकत्व अधिकतम बनाउने तरिका सिकाउने अनगिन्ती पुस्तक किन्छौँ। आफ्ना हातमा उपकरण बाँधेर शरीर र व्यवहार नाप्ने तथा ‘अनुकूलन’ गर्ने प्रयास गर्छौँ। आराम गर्ने विषयमा लेखिएका पुस्तकहरूले समेत अधिक उत्पादक बन्ने बाचा गर्नुपर्छ। उदाहरणका लागि एलेक्स सुजुङ–किम पाङको पुस्तक रेस्टको उपशीर्षक नै छ-‘कम काम गर्दा किन बढी उपलब्धि हासिल हुन्छ।’
हाम्रो प्रतिरोधको भाषा पनि मेसिनकै जस्तो छ। हामी भन्छौँ- स्विच अफ हुनुपर्छ, डिस्कनेक्ट हुनुपर्छ, ब्याट्री रिचार्ज गर्नुपर्छ वा बर्नआउट हुनुभन्दा अघि आराम गर्नुपर्छ।
तर मानिस मेसिनजस्तो छैन र हाम्रो मस्तिष्क पनि मेसिन होइन। धेरै वैज्ञानिकहरू अहिले ‘कम्प्युटर’ को उपमा मस्तिष्क बुझ्नका लागि उपयोगी नभएको तर्क गर्छन्। स्नायु वैज्ञानिक लुइज पेस्सोअका अनुसार यसको जटिल जैविक प्रक्रिया आकाशमा उडिरहेका चराहरूको विशाल समूहले बनाउने लहरदार आकृतिजस्तै हुन्छ। चेतनाबारे पनि केही वैज्ञानिकहरू विश्वास गर्छन् कि यो शरीर र मस्तिष्कबीचको निरन्तर संवादबाट उत्पन्न हुन्छ। यस्तो दृष्टिकोणमा हाम्रो मृत्युशीलता र अनुभूति गर्ने क्षमता कुनै कमजोरी वा ‘एक्स्प्लोइट’ होइन, बरु हाम्रो पहिचानको मूल रहस्य हो।
नि:सन्देह यसलाई प्रतिस्पर्धाका रूपमा हेर्नु आवश्यक छैन। मानिस र एआई दुवै शक्तिशाली छन् तर उनीहरूको शक्ति मूलतः भिन्न प्रकृतिको छ। आदर्श अवस्थामा हामीले यी उपकरणहरूलाई नयाँ उपलब्धि हासिल गर्न आफ्नो क्षमता विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ। हामी आफैँलाई मेसिनसँग तुलना गर्न थाल्यौँ भने हामी केही क्षेत्रमा आफूमाथि अत्यधिक अपेक्षा राख्नेछौँ र अन्य क्षेत्रमा आफूलाई आवश्यकभन्दा कम मूल्य दिनेछौँ।




