काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा.शशांक कोइरालाले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने चेतावनी दिएका छन्।
नेता कोइरालाले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजनको प्रक्रियासमेत सुरू हुने चेतावनी दिएका हुन्।
उनले यसअघि भएको विशेष महाधिवेशनलाई ‘कथित विशेष महाधिवेशन’ भनेका छन्। विशेष महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको उनको भनाइ छ।
‘कथित विशेष महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको छ,’ कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्,‘यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरू हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ।’
उनले महाधिवेशन नगर्न र सदस्य तथा पदाधिकारीहरूले यस्ता क्रियाकलपामा सहभागी नहुन आग्रह गरेका छन्।
‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पनुरावलोकन गर्ने निर्णय दिइसकेको अवस्थामा १५ औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक भएकोमा आफूहरूको ध्यानाकर्षण भएको कोइरालाले बताएका छन्।


