काठमाडौँ- प्रतिनिधिसभाको बैठक जारी छ । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध जारी राखेका छन्। बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विगतमा जस्तै प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन सभामुखबाट रुलिङको माग गरेका छन्।
उनले प्रधानमन्त्री शाहको निर्देशनमा सुकुम्वासीलाई घरबारबिहीन बनाइएको बताए। ‘सुकुम्वासी अव्यवस्थित बसोबासीको घरमा डोजर चलाएर बेघर बनाउनुभयो । बेहाल स्थिति छ,’ उनले भने ।साम्पाङले सुकुम्वासी अव्यवस्थितहरूलाई राखिएका होल्डिङ सेन्टरमा खाना र पानीको अभावमा आन्दोलन भइरहेको भन्दै सरकारलाई बजेटमै व्यवस्थापन गरेर पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । नेकपाका गोपाल शर्माले प्रधानमन्त्रीले नै गैरजिम्मेवार अभिव्यक्ति दिने गर्दा मन्त्रीहरूले समेत त्यस्ता अभिव्यक्तिहरूमा प्रतिस्पर्धा गर्न थालेको बताए ।
‘गैरजिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलिरहेको छ । अर्थमन्त्री रोष्ट्रमबाट सांसदहरूलाई धम्की दिनुहुन्छ, अर्कोतिर मन्त्री नै खुट्टा भाच्ने कुरा गर्नुहुन्छ,’ उनले भने । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ ।
आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पनि विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।




