काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
महानगरले आगामी आर्थिक वर्ष पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसाथ गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन्।
चालू आर्थिक वर्ष २०८२/८३ को १७ औँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै अपुरा रहेका बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइएको उनले बताइन्। महानगरपालिकाले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने दीर्घकालीन सोच राखेको उनको भनाइ छ।
त्यस्तै महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बन्धित विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘अर्न ह्वाइल यु लर्न’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप र पार्टटाइम इन्गेजमेन्ट कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ।
यसका साथै सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिने विषय पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ।




