काठमाडौँ– चीनको राजधानी बेइजिङमा आरोही तथा संघीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीनका करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन्।
७३ औँ सगरमाथा दिवसका अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’ मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ।
पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गरेका थिए।
नेपालका पर्वतीय पर्यटनको प्रवद्र्धन तथा नेपाली र चिनियाँ पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
त्यस अवसरमा चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले सगरमाथाको महत्व, साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पारे। उनले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताए।
नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुति दिएका थिए। नेपालका कीर्तिमानी आरोही लाक्पा डेण्डी शेर्पा र चिनियाँ आरोहीद्वय चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणको अनुभव साझा गरेका थिए।
कार्यक्रमस्थलमा नेपालका पर्यटकीय गन्तव्यहरु स्थलको तस्बिरहरूको प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो।
नेपालबाट नेपाल पर्वतारोहण संघ, आरोहण सञ्चालक संघ, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका साथै आरोहण र पदमार्गसम्बन्धी दर्जन बढी कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सोही अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो।




