बेइजिङमा सगरमाथा साहसिक उत्सव

अजय अलौकिक ३० जेठ २०८३ १९:५२ | Saturday, June 13, 2026
16
SHARES
बेइजिङमा सगरमाथा साहसिक उत्सव

बेइजिङ– सगरमाथा आरोहीका दुःखका साथै साहसिक कथा, स्वर्गको टुक्राका रूपमा नेपालको प्रशंसा, हिमपर्वत र पर्वतारोहणसम्बन्धका जल्दाबल्दा समस्या र सम्बन्धित् संघसंस्था तथा व्यवसायीद्वारा पर्वतीय प्रवर्द्धनका क्रममा देखाएको आशाले शुक्रबार (जुन १२) साँझ बेइजिङस्थित एक होटलको कक्ष हिमालमय बनेको थियो।

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मनाउँदै आइएको सगरमाथा दिवस मनाउने क्रममा तत्स्थानको वातावरण हिमालमय भएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनाका साथै नेपालको पर्वतीय पर्यटन प्रवर्धन तथा नेपाल र चीनबीचका पर्वतारोहण उद्यमीबीच सहकार्य अभिवृद्धिको उद्देश्यले बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले जुन १२ तारिख नेपाल चीन सगरमाथा साहसिक उत्सव कार्यक्रम आयोजना गरेको हो।

सो साहसिक उत्सव कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायीहरूको सहभागिता थियो।

साथै, नेपाल पर्वतारोहण संघका अध्यक्षसहितको एक टोली, आरोहण सञ्चालक संघ, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका साथै आरोहण र पदमार्गसम्बन्धी कम्पनीहरुका प्रतिनिधिहरूका साथमा ५० भन्दा बढी नेपाली तथा चिनियाँ सगरमाथा आरोहीहरूको पनि उपस्थिति रहेको थियो। यसबाहेक, गेस्ट अफ अनर्सका रूपमा प्रतिनिधि सभासदस्य तथा पूर्वउपसभामुख इन्दिरा राना मगर पनि उपस्थित थिइन्।

कार्यक्रममा नेपाली तथा चिनियाँ आरोहीहरूलाई सम्मान गरिएको थियो। पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीहरुलाई सम्मान जनाउँदै सम्मानपत्र प्रदान गरेका थिए। साथै, नेपालको पर्वतीय पर्यटन प्रवर्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सहआयोजक कैलाश स्पोर्ट्स गियर कम्पनीका साथै विविध सम्बन्धित कम्पनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

यसअघि कार्यक्रमलाई स्वागत गर्दै बेइजिङस्थित चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले सगरमाथाको महत्त्व, साहसिक पर्यटनको भावनाका साथै विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पारिन्। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने र वातावरणीय प्रभाव देखिन थालेकाले पर्वतीय पर्यटनको विकाससँगै हिमाली पर्यावरणको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने पनि जोड दिइन्।

नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका साहसिक तथा पर्वतीय पर्यटन सम्बन्धमा नेपालका विभिन्न हिमाल, प्राकृतिक सम्पदा तथा प्रमुख पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुति दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको भिडियो सन्देशमा उनले साहसिक तथा पर्वतीय पर्यटनको विकास सँगसँगै पर्वतीय पर्यावरण सम्बन्धमा चासो व्यक्त गरे।

प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले आफ्नो सम्बोधनमा पर्वतीय पर्यटन प्रवर्धनका लागि नेपाल र चीन बीच सँयुक्त पहल आवश्यक रहेको र दुई देश बीचको पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिए। कैलाशकी सहसंस्थापक चु हाइयानले चीन र नेपालका उद्यमी साझेदारहरूसँग हातेमालो गरेर पर्वतीय पथप्रदर्शकहरूको उत्थान एवम् पर्वतीय अन्वेषणका लागि सुरक्षित, व्यावसायिक र स्थिर भविष्य निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिइन्। वक्ताहरूले पर्वतीय पर्यटनको सम्भावनाका साथै जलवायु परिवर्तनका चुनौती विषयमा धारणा राखे।

यसैगरी, सगरमाथाको कीर्तिमानी आरोही लाक्पा डेन्डी शेर्पा, चिनियाँ आरोहीहरू क्रमशः चाओ मैलिन र शीप एड्भेन्चर्सका संस्थापक ल्वोरिकाशीले पनि आआफ्नो अनुभव सुनाएका थिए। आरोहीहरूले कष्ट र साहसको कथाका साथै नेपालको अनुपम प्राकृतिक सौन्दर्यको प्रशंसा गरे।

प्रकाशित: ३० जेठ २०८३ १९:५२ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast