काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुजाता तामाङले कृषि मन्त्रालयको बजेट विनियोजनमा गम्भीर विरोधाभास र चिन्ताजनक प्रस्ताव गरिएको बताएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।
संघीय कृषि मन्त्रालयको दुई तिहाइभन्दा बढी बजेट केवल रासायनिक मल खरिद गर्न मात्रै प्रस्ताव गरिएकोमा सांसद तामाङले उल्लेख गरेकी छन्।
‘बजेटको संरचना हेर्दा रासायनिक मलमात्रै उत्पादन बढाउने एकमात्र आधार हो भन्ने बुझाइ हाबी भएको देखिन्छ,’ उनले भनिन्,‘संघीय कृषि मन्त्रालयको दुई तिहाइभन्दा बढी बजेट केवल रासायनिक मल किन्नमा मात्रै खर्च गर्ने प्रस्ताव गरिएको छ।’
रासायनिक मलमा मात्रै अत्यधिक निर्भर रहँदा दीर्घकालीन रुपमा माटो बिगार्नका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउनेतर्फ उनले ध्यानाकर्षण गराइन्।
‘रासायनिक मलमा मात्रै अत्यधिक निर्भर रहँदा यसले दीर्घकालीन रुपमा हाम्रो माटो त बिगार्छ नै, साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउँछ। अहिले कृत्रिम मल र विषादीले माटो मात्र होइन मानव स्वास्थ्यमा समेत गंभीर नसर्ने रोग निम्त्याएको तथ्यांक बाहिरिरहेका छन्,’ उनले भनिन्।
सांसद तामाङले कृषि, पर्यटन र उद्योगलाई प्रोत्साहन दिई आत्मनिर्भर अर्थतन्त्र निर्मार्ण गर्ने र युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रमका लागि बजेटको उचित बाँडफाँटमा जोड दिएकी छन्।
कृषि, वन र वातावरण मन्त्रालय एउटै बनाएर प्रकृति र वातावरणलाई प्राथमिकता दिइएको बताउँदै उनले कृषि र वनको एकीकृत प्रणाली विकास गरेर दिगो प्रकृति र वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिइन्।
तामाङले कृषि क्षेत्रमा पर्न सक्ने जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर हरित ऊर्जा, वन संरक्षण, माटो सुधार र प्रदूषण नियन्त्रणमा समेत पर्याप्त लगानी गर्ने दिशाबोध यो बजेटले गर्नुपर्ने उनको भनाइ छ।
उनले बजेटको माध्यमबाट ६० प्रतिशतभन्दा बढीको संख्यामा रहेका साना किसानहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँचलाई सुनिश्चित गर्न आवश्यक रहेको जिकिर गरिन्। आर्थिक नीतिमा थिति बसाल्ने, शासकीय सुधार गर्ने र विकास पूर्वाधारमा जोड दिने बजेटको सकारात्मक पक्ष रहेको उनको भनाइ छ।




