काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले गरिब नागरिकलाई सेवा दिने भन्दा पनि ठूलो व्यापारीहरूलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेस गरेको बजेटमाथिको छलफलमा उनले अहिलेको बजेट ल्याउने मन्त्रीलाई विज्ञ भन्न नसकिने समेत बताए। ‘हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ?’ उनले भने।
शाहीले रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको बताए। ‘यो बजेटले अब बिरामीहरूलाई समेत कर लगाउने बाटो खोलेको छ। उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन। अन्ततः त्यो कर उपचार गराउन गएका विरामीले तिर्नुपर्ने हुन्छ। रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार कति कति निर्दयी,’ उनले भने।
त्यस्तै नेपालमानै उत्पादन हुने औषधीलाई प्रोत्साहन दिनुको सट्टाआयोतित औषधीलाई सहज हुने व्यवस्था गरिएको उनको भनाइ छ।
‘यसको प्रत्यक्ष असर नेपालको औषधी उद्योगमा पर्नेछ। आज २० देखि २५ हजार युवाले रोजगारी पाएका उद्योगहरू संकटमा पर्ने अवस्था सृजना भएको छ। झण्डै ५० भन्दा बढि ठूला औषधी उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन्। स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन,’ उनले भने।




