प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिए जवाफ

हिमाल प्रेस २७ जेठ २०८३ १६:१६ | Wednesday, June 10, 2026
8
SHARES
प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिए जवाफ संघीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक। तस्बिर : रासस

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति मूलतः दसगजा क्षेत्रको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार भूउपयोगको अवस्थासँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र सीमापार बसोबास तथा खेतीपातीको अवस्थालाई इंगित गर्ने रहेको बताए।

प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्‌मा दिएको उक्त अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले त्यसको विरोध गर्दै निरन्तर संसद् अवरोध गरेका थिए। प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने सहमति भएपछि बुधबार संसद बैठक सञ्चालन भएको हो।

प्रधानमन्त्रीको भनाइबारे स्पष्टीकरण दिँदै खनालले नेपाल-भारत सीमा निर्धारण गर्दा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अपनाइएको बताए। त्यसका कारण कतिपय स्थानमा एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने वा बसोबास गर्ने अवस्था रहेको उनको भनाइ थियो।

उनले नेपाल-भारतको लामो खुला सीमालाई व्यवस्थित र वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नक्सांकन भइसकेका क्षेत्रमा सीमास्तम्भ निर्माण तथा मर्मत, दसगजा क्षेत्रको अतिक्रमण पहिचान र क्रस बोर्डर अकुपेसनको अभिलेखीकरणका लागि दुवै देशका सीमा संयन्त्र र प्राविधिक टोली सक्रिय रहेको जानकारी दिए।

परराष्ट्रमन्त्री खनालका अनुसार लामो समयदेखि निष्क्रिय रहेको नेपाल-भारत सीमा प्राविधिक समितिको काम पुनः सक्रिय बनाइएको छ। सीमा क्षेत्रमा हुने अतिक्रमण, सीमापार भूउपयोग तथा भूभाग कब्जासम्बन्धी विषयमा प्राविधिक टोलीले अध्ययन तथा छानबिन गरिरहेको उनले बताए।

यसैगरी मन्त्री खनालले नेपाल–भारत सीमा विवाद समाधानबारे तेस्रो पक्षको साथ नखोजेको पनि बताए।

प्रकाशित: २७ जेठ २०८३ १६:१६ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast