बाह्रबिसेका नागरिकलाई काठमाडौँ मेडिकल कलेजमा उपचार गर्दा विशेष छुट

हिमाल प्रेस २७ जेठ २०८३ १४:२८ | Wednesday, June 10, 2026
44
SHARES
बाह्रबिसेका नागरिकलाई काठमाडौँ मेडिकल कलेजमा उपचार गर्दा विशेष छुट

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका र काठमाडौँ मेडिकल कलेज (केएमसी) दुवाकोटबीच नगरवासीलाई उपचारमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। बाह्रबिसे नगरपालिका र अस्पताल प्रशासनबीच उपचार सेवामा छुट दिने सम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो।

सम्झौताअनुसार वडा कार्यालय वा नगरपालिकाको सिफारिस लिएर केएमसीमा उपचारका लागि जाने बाह्रबिसे नगरपालिकाका नागरिकले २०८३ असार मसान्तसम्म मुटुको भल्भसम्बन्धी उपचारबाहेक अन्य सबै उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन्। त्यसपछि २०८३ साउन १ गतेदेखि चैत मसान्तसम्म २५ प्रतिशत छुट प्रदान गरिनेछ।

बाह्रबिसे नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष विमलप्रसाद पौडेलले सम्झौताले नगरवासीलाई उपचारमा राहत पुग्ने विश्वास व्यक्त गरे। आर्थिक अवस्था कमजोर भएका नागरिकले महँगो उपचार गराउन नसक्ने अवस्था भएकाले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो पहल गरिएको उनले बताए।

सम्झौताअन्तर्गत बिरामीले ओपीडी टिकट निःशुल्क पाउनेछन्। साथै बेड, आईसीयू, शल्यक्रिया, ल्याब परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, ईसीजीलगायत विभिन्न स्वास्थ्य सेवामा छुटको व्यवस्था गरिएको छ। फिजियोथेरापी तथा दाँतको उपचारमा पनि (सामग्री खर्चबाहेक) २५ प्रतिशत छुट दिइनेछ।

वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीका अनुसार स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतका बिरामीले सरकारी सुविधाको उपयोग गरिसकेपछि मात्र अस्पतालबाट थप छुट पाउनेछन्। उनले भविष्यमा महँगो उपचार आवश्यक पर्ने रोगका बिरामीलाई आर्थिक राहत दिन यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सम्झौतापत्रमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत र अस्पताल प्रशासनका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। नगरपालिकाले यस कदमले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ। केएमसीले अब नगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिएको छ। शिविरमा नर्मल अप्रेसनलगायतका उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ। यसको व्यवस्थापकीय जिम्मा भने बाह्रबिसे नगरपालिकाले गर्नेछ।

प्रकाशित: २७ जेठ २०८३ १४:२८ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast