विद्यालय कर्मचारीको धैर्य टुट्दै, आन्दोलन थप सशक्त बनाइने

हिमाल प्रेस २६ जेठ २०८३ ११:४९ | Tuesday, June 9, 2026
36
SHARES
विद्यालय कर्मचारीको धैर्य टुट्दै, आन्दोलन थप सशक्त बनाइने

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष तथा संयुक्त विद्यालय कर्मचारी आन्दोलन परिचालन समितिका संयोजक गंगाराम तिवारीले विद्यालय कर्मचारीका मागप्रति सरकार गम्भीर नबने थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

मंगलबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष तिवारीले शिक्षा मन्त्रालयसँग पटकपटक छलफल तथा संवाद हुँदा विद्यालय कर्मचारीका सेवासुविधामा केही वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको भए पनि आगामी आर्थिक वर्षको बजेटले कर्मचारीमाथि ‘बज्रपात’ गरेको बताए।

उनले चैत २२ गतेदेखि वैशाख २९ गतेसम्म काठमाडौँमा बसेर तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, शिक्षा सचिव तथा मन्त्रालयका अन्य अधिकारीहरूसँग विभिन्न चरणमा छलफल भएको जानकारी दिए। त्यसक्रममा विद्यालय कर्मचारीका मागबारे ध्यानाकर्षण गराइएको र केही रकम वृद्धि गर्ने तयारीमा मन्त्रालय रहेको संकेत पाइएको उनको भनाइ थियो।

तिवारीले आफ्नी आमाको असामयिक निधनका कारण बजेटपछिका गतिविधिमा सक्रिय हुन नसकेको बताउँदै विद्यालय कर्मचारी आन्दोलनलाई निरन्तर अगाडि बढाइने बताए। उनले जेठ २१ गतेदेखि संयुक्त विद्यालय कर्मचारी आन्दोलनको पहिलो चरण घोषणा गरिएको र देशभरका जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

आन्दोलनमा विभिन्न विद्यालय कर्मचारी संगठन, अस्थायी प्रकृतिका शिक्षक तथा शिक्षक संगठनहरूबाट समेत समर्थन प्राप्त भएको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे। शिक्षक महासंघ पनि विद्यालय कर्मचारी र बाल विकास शिक्षकका विषयमा गम्भीर बनेको उनको भनाइ छ।

उनले शिक्षा मन्त्रालयबाट केही दिनभित्र वार्ताका लागि बोलाउन सक्ने संकेत प्राप्त भएको बताए। तर विगतमा पटकपटक सरकारबाट झुक्याइएकाले स्पष्ट प्रस्ताव नआएसम्म वार्तामा सहभागी हुने विषयमा थप छलफल आवश्यक रहेको धारणा व्यक्त गरे।

तिवारीले आन्दोलनलाई प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय तहका संगठनहरूलाई सक्रिय रहन आग्रह गर्दै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, त्यसको जानकारी केन्द्रमा पठाउने र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न निर्देशन दिए।

‘हामी नरहे पनि संगठन रहन्छ, संगठनले सदस्यहरूको हितका लागि निरन्तर आवाज उठाइरहन्छ,’ उनले भने,‘सरकारले माग पूरा नगरेसम्म विद्यालय कर्मचारीको आन्दोलन जारी रहनेछ।’

प्रकाशित: २६ जेठ २०८३ ११:४९ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast