काठमाडौँ- सामाजिक उत्तरदायित्व र समावेशी समाज निर्माणतर्फ पहलअन्तर्गत बौद्धिक अपांगता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारलाई लक्षित गरी आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
अपांगता सशक्तीकरण नेपाल, ललितपुरका महासचिव ई.कृष्ण महर्जनले संस्थाले ‘मन त नेपाली’ सँगको सहकार्यमा बौद्धिक अपांगता भएका व्यक्तिहरूको पुनर्स्थापना तथा अभिभावक संघलाई सहयोगस्वरूप सामग्री वितरण गरेको जानकारी दिए।
कार्यक्रमअन्तर्गत बौद्धिक अपांगता पुनर्स्थापना समाजलाई लत्ताकपडा, खाद्यान्न सामग्री तथा म्याट हस्तान्तरण गरिएको छ भने बौद्धिक अपांगता अभिभावक संघलाई शर्ट तथा पोडियम प्रदान गरिएको छ।
नेपाली कपडा उत्पादन कम्पनी ‘मन त नेपाली’ ले करिब रु. ३६,००० बराबरको सामग्री सहयोग गरेको हो।
महासचिव महर्जनले सामाजिक उद्यमशीलता र समावेशी विकास एक–अर्कासँग जोडिएको उल्लेख गर्दै अपांगता समावेशी समाज निर्माण केवल सरकार वा सम्बन्धित संस्थाको मात्र दायित्व नभई निजी क्षेत्र, नागरिक समाज र समुदायबीचको सहकार्यबाट मात्र दिगो परिवर्तन सम्भव हुने बताए।
उनका अनुसार यस्ता सहकार्यले सामाजिक उद्यमहरूले व्यवसायिक सफलतासँगै सामाजिक प्रभाव पनि सिर्जना गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्छन्।
यस्ता पहलहरूले अपांगता भएका व्यक्तिहरूको सम्मान, सहभागिता र सशक्तीकरणमा योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले ‘मन त नेपाली’ प्रति धन्यवाद व्यक्त गर्दै बौद्धिक अपांगता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समावेशीकरणका लागि निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।




