भौतिक र डिजिटल पहुँच विस्तारबिना समावेशी समाज असम्भव, ललितपुरमा ५० बढी अपांगता भएका व्यक्तिलाई अभिमुखीकरण

हिमाल प्रेस १५ जेठ २०८३ ७:३४ | Friday, May 29, 2026
32
SHARES
भौतिक र डिजिटल पहुँच विस्तारबिना समावेशी समाज असम्भव, ललितपुरमा ५० बढी अपांगता भएका व्यक्तिलाई अभिमुखीकरण

ललितपुर- महालक्ष्मी नगरपालिकामा अपांगता भएका व्यक्तिका लागि भौतिक तथा डिजिटल पहुँचयुक्तता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। यो कार्यक्रम अपांगता भएका व्यक्तिहरूको अधिकार, सहभागिता र पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित गरिएको थियो।

बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको साझेदारी, महालक्ष्मी नगरपालिकाको समन्वय तथा अपांगता सशक्तीकरण समाज नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेको अध्यक्षता तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा विभिन्न प्रकारका अपांगता भएका ५० भन्दा बढी व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो।

सहभागीहरूलाई सार्वजनिक संरचना, सेवा, सूचना तथा डिजिटल माध्यमहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्ने विषयमा जानकारी दिइएको थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले भौतिक पूर्वाधार, सार्वजनिक सेवा, वेबसाइट, मोबाइल एप, डिजिटल सामग्री तथा सूचना प्रणालीहरूलाई सबैका लागि पहुँचयोग्य बनाउनुको महत्वबारे छलफल गरेका थिए।

उनीहरूले आफूले भोग्दै आएका अनुभव, चुनौती तथा सुधारका लागि आवश्यक सुझावहरू पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा वक्ताहरूले पहुँचयुक्तता कुनै सुविधा नभई मानव अधिकारको विषय भएको उल्लेख गर्दै सार्वजनिक स्थान, सेवा तथा प्रविधि सबैका लागि समान रूपमा पहुँचयोग्य बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

उनीहरूले अपांगता भएका व्यक्तिहरूको पूर्ण तथा अर्थपूर्ण सहभागिताका लागि स्थानीय तहदेखि नै पहुँचयुक्त नीति, सेवा प्रवाह र पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताएका थिए।

आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूलाई आफ्ना अधिकारप्रति थप सचेत बनाउनुका साथै स्थानीय तहमा पहुँचयुक्त वातावरण निर्माणका लागि आवाज उठाउने आत्मविश्वास प्रदान गरेको छ।

यस्ता कार्यक्रमले भविष्यमा अझ समावेशी, समान र सम्मानजनक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १५ जेठ २०८३ ७:३४ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast