काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला अधिवेशन स्थगित भएको छ। जिल्लाको नेतृत्व चयन गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको हो।
सिरहाको जिरोमाइलमा जारी अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेपछि विवाद सिजर्ना भएको बताइएको छ।
रास्वपाको सिरहा जिल्ला नेतृत्वका लागि सुझाव यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी देखिएका छन्।
आइतबार उद्घाटन कार्यक्रमपछि रास्वपाका मधेश प्रदेश सभापतिसमेत रहेका सिरहा ४ का सांसद तपेश्वर यादव, क्षेत्र नम्बर २ का सांसद शिव यादव, क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता, क्षेत्र नम्बर ३ का सांसद शम्भु यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले आकांक्षीमध्ये एकको नाममा सहमति जुटाउने प्रयास गरेका थिए।
तर, सहमति नजुटेपछि सोमबार दिउँसो २ बजेपछि मतदानको समय तोकिएको थियो। मतदान प्रक्रियामा धाँधली भएको आरोप लागेपछि विवाद सिर्जना भएको हो।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीले सिरहा जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
उनले महाधिवेशन स्थलमा अत्याधिक भीड उग्र तथा हिंसात्मक बन्दै गएकोले स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएकाले अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगन गरिएको बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त केसीले वर्तमान जिल्ला सभापति मैनाली, सांसद पुरुषोत्तम यादव, बब्बलु गुप्ता र शिव यादवबीच आपसी समझादारी र सहमति कायम भएको जानकारी दिएका छन्।
उनका अनुसार अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार बिहान ९ बजेदेखि सुरू गर्ने सहमति भएको छ।





