काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको बताएका छन्।
तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने सहमति भएको जानकारी दिए। त्यस्तै भारतको सहयोगमा भूकम्पछिको पुनर्निर्माणअन्तर्गत निर्माण गरिएका ८४ वटा परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको उनले बताए।
परराष्ट्रमन्त्री खनालले भाषा अनुवाद प्लेटफर्मसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समेत समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए।
उनले झन्डै दुई वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण अब पुनः सक्रिय हुने र आगामी केही महिनाभित्र दुवै देशबाट उच्चसतरीय भ्रमण हुनसक्ने अपेक्षा रहेको बताए।
खनालले लिपुलेक, कालापानीलगायत सीमा सम्बन्धी विषयमा नेपालले कूटनीतिक माध्यमबाट आफ्नो धारणा राखिरहेको जानकारी दिए। उनले सीमा समस्याको समधान तथ्य, प्रमाण र आपसी संवादका आधारमा खोजिने बताए।
दुवै देशबीच भएका छलफल र सहमतिले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै व्यापार, लगानी, ऊर्जा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा परिणाममुखी सहकार्यका लागि आधार तयार भएको सरकारको विश्वास छ।




