काठमाडौँ- समावेशी शिक्षाको प्रवर्द्धन तथा विद्यालयमा अपांगतामैत्री सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले महालक्ष्मी नगरपालिकाका शिक्षकहरूका लागि आयोजित समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोग, महालक्ष्मी नगरपालिकाको समन्वय तथा सामुदायिक पुनःस्थापना कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न विद्यालयका ३० भन्दा बढी शिक्षक तथा प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए भने सञ्चालन महासचिव ई.कृष्ण महर्जनले गरेका थिए। कार्यक्रममा समावेशी शिक्षा विशेषज्ञ मुकुन्दहरि दाहालले सहजीकरण गरेका थिए। रुबी महर्जन र कुञ्जन काफ्लेले सहयोगीको भूमिका निर्वाह गरेका थिए।
प्रशिक्षणका क्रममा समावेशी शिक्षाको अवधारणा, अपांगता भएका बालबालिकाको अधिकार, पहुँचयुक्त सिकाइ वातावरण, शिक्षकको भूमिका तथा विद्यालयमा समावेशी अभ्यासका विषयमा विस्तृत छलफल गरिएको थियो।

सहभागी शिक्षकहरूले विद्यालय तहमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ज्ञान, सीप र अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रममा वक्ताहरूले समावेशी शिक्षा भनेको अपांगता भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्र नभई उनीहरूलाई सम्मान, अवसर र सक्रिय सहभागितासहितको सिकाइ वातावरण सुनिश्चित गर्नु पनि रहेको बताएका थिए।
शिक्षकहरू परिवर्तनका संवाहक भएकाले उनीहरूमा विकसित समावेशी सोचले हजारौं विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गरिएको थियो।
आयोजक संस्थाले विद्यालयमा सम्मान, समानता र विविधताको संस्कार विकास गर्न सके सबै बालबालिकाले गुणस्तरीय र न्यायपूर्ण शिक्षाको अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
समावेशी शिक्षा विद्यालयबाट सुरु भई समावेशी समाज निर्माणमा पुगेर पूर्णता पाउने उल्लेख गर्दै यस पहलले अपांगतामैत्री विद्यालय, पहुँचयुक्त शिक्षण प्रणाली तथा विभेदरहित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




