काठमाडौँ- नेपाल पान्डा इन्टरनेसनल ट्राभलले चीनको सेन्जेन र नेपालको काठमाडौंबीच विशेष द्विसाप्ताहिक (सातामा दुई पटक) चार्टर्ड उडान सेवा शुक्रबार औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सेवाको पहिलो उडानमार्फत एक सय ५० चिनियाँ पर्यटक नेपाल आइपुगेका छन्।
हिमालय एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन हुने उक्त चार्टर्ड उडान प्रत्येक मंगलबार र शुक्रबार सञ्चालन गरिनेछ। नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउन यो सेवा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।
‘चीनको सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका अग्रणी प्रविधि, नवप्रवर्तन तथा आर्थिक केन्द्रहरूमध्ये एक हो। यस महानगरबाट नेपालसम्म प्रत्यक्ष हवाई पहुँच स्थापना भएसँगै नेपाल पान्डा इन्टरनेसनल ट्राभलले नेपाललाई चिनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका अनुसार यो सेवाले विशेषगरी प्रविधि क्षेत्रका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई आकर्षित गर्नेछ।
यो पहल नेपाल सरकारले अन्तर्राष्ट्रिय पर्यटन विस्तार तथा उच्च मूल्यका पर्यटक आकर्षित गर्ने रणनीतिसँग समेत मेल खाने विश्वास गरिएको छ। शेन्जेनबाट नियमित चार्टर्ड उडान सञ्चालन भएपछि चीनबाट नेपाल आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने तथा पर्यटन, आतिथ्य, हवाई सेवा र सेवा क्षेत्रका विभिन्न उद्योगहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।
चार्टर्ड उडानमार्फत यात्रा गर्ने यात्रुहरूले हिमालय एयरलाइन्सको सुरक्षित, आरामदायी र भरपर्दो सेवा अनुभव गर्नेछन्। साथै, नेपाल पान्डा इन्टरनेसनल ट्राभलले आफ्नो गन्तव्य व्यवस्थापन विशेषज्ञतामार्फत विशेष रूपमा तयार गरिएका भ्रमण कार्यक्रम तथा विश्वस्तरीय आतिथ्य सेवा उपलब्ध गराउने जनाएको छ।
नेपाल अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा निरन्तर उदीयमान भइरहेका बेला नेपाल पान्डा इन्टरनेसनल ट्राभल नवीन यात्रा समाधानहरू विकास गर्दै नेपालको पर्यटन उद्योगको दिगो विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
यस नयाँ हवाई सेवाको सुरुवातसँगै नेपाल–चीन पर्यटन तथा आर्थिक सहकार्यले थप गति लिने अपेक्षा गरिएको छ।




